Latest News

Friday, May 12, 2017

दोलखामा उम्मेदवारहरु लखेटिए, ‘एमाले कार्यकर्ता भाला, खुकुरी बोकी घरघर पसे’

रवीन्द्र गौतम (इमेज): दोलखा, वैशाख २९ । दोलखाको उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्बुबाट वडाध्यक्षका उम्मेदवारसहित २९ जना लखेटिएका छन् ।गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडासदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुला वडासदस्यका उम्मेदवार आङदोर्जी शेर्पा, नेपाली कांग्रेस मार्बुका सभापति टेण्डु शेर्पासहित २९ जनालाई नेकपा एमालेका कार्यकर्ताले लखेटेको बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा शान्ति–सुरक्षा पाऊँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी नै दर्ता गराएका छन् ।एमालेले एक सयभन्दा बढी मानिस बाहिरबाट झिकाइ आफूहरुलाई गाउँ छाड्न धम्की दिएकाले ज्यानको सुरक्षा र शान्तिपूर्ण निर्वाचनको माग गर्दै उजुरी दिएको उनीहरुले बताएका छन् ।
मार्वुमा एमाले कार्यकर्ताले भाला, खुकुरी, तरबार, पेस्तोल बोकी घरघरमा छिरेर मतदातालाई धम्क्याउँदै मतदाता परिचयपत्र लिनसमेत रोकेको आरोप उनीहरुको छ ।आफ्नो ज्यानकै असुरक्षा भएको भन्दै उनीहरुले युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङसहित १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी उजुरी दिएका छन् विस्थापितहरु घर फर्कने अवस्था नरहेकाले उक्त स्थानमा निर्वाचन स्थगित गर्नसमेत उनीहरुले माग गरेका छन् ।

No comments

Post a Comment