इटहरी : सुनसरीको दक्षिणी क्षेत्र सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ, कटहरी–२ घर भई जिल्ला प्रहरी सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
सिलिन्डर पड्किँदा आठभन्दा बढी घाइते भएका थिए । द्दमइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकामा प्रहरी जवान माझीको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।गम्भीर घाइते मोरङ, गछियाकी ३२ वर्षीया तारा मण्डल र भारत घर भई मोरङको आरती कारखानामा कार्यरत गुड्डु यादवको चिन्ताजनक अवस्थामा सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको थियो । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका–६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए।
शिवरात्रि पर्वका अवसरमा पूजाअर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भिडभाड भएको स्थानमा अकस्मात् बेलुन फुलाइरहेका बेला सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते भएका हुन् । रासस
अन्नपुर्ण पोस्टबाट साभार गरिएको |
No comments
Post a Comment