रोल्पा, १८ फागुन - श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमानले अदालतबाट सफाइ पाएका छन्।
सुनकुमारीकी सानीआमाकी छोरी बहिनी जालकुमारीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ।
विसं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको १२ बजेतिर सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट सुनकुमारीको ज्यान गएको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुनेगरी फागुन ३ गते फैसला भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिए।
उनका अनुसार मृतक सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी सुनकुमारीका श्रीमान् ध्रुब नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको हुँदा सफाइ पाएका हुन्।
जिल्ला न्यायाधीश ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो। मृतकका श्रीमान् ध्रुब र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको ज्यान गएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो।
घटना घटेको एक महिनापछि कात्तिक २७ गते भैरहवाको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनकुमारीको ज्यान गएपछि आरोपित जालकुमारी नेपाली र ध्रुब नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो।
अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन्। काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा थिए भने जालकुमारी भने झण्डै ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन्। रासस
No comments
Post a Comment