बेलायतका वैज्ञानिकहरुले एउटा यस्तो युएसबी स्टिक अर्थात् सरल भाषामा पेन ड्राइभको विकास गरेका छन् जसमा रगत हालेर सजिलोसँग एचआइभी संक्रमणको परीक्षण गर्न सकिन्छ ।बेलायतको लण्डनस्थित इम्पेरियल कलेजे तथा डिएनए इलेक्ट्रोनिक्सका वैज्ञानिकहरुले संयुक्त रुपमा यस्तो पेनड्राइभको आविष्कार गरेका हुन् ।
यो पेनड्राइभभित्र रगतको थोपा हालिसकेपछि पेनड्राइभलाई कम्प्युटर वा ल्यापटपमा घुसारेर एचआइभी वानको मात्रा पत्ता लगाउन सकिन्छ । यो डिभाइस एचआइभी संक्रमितहरुलाई आफ्नो उपचारमा निकै लाभदायक हुने अपेक्षा गरिएको छ ।साइन्टिफिक जर्नल नामक एक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार युएसबीद्धारा गरिने जाँच निकै सटिक छ र केवल आधा घण्टामै जाँचको नतिजा प्राप्त गर्न सकिन्छ । अहिले एचआइभी एड्सको परीक्षणका लागि उपलब्ध प्रयोगशाला परीक्षणबाट जाँचको नतिजा प्राप्त गर्न करीव ३ दिन लाग्छ ।
वैज्ञानिकहरुले यो पेनड्राइभमा ९ सय ९१ थरी रक्तनमूनाको परीक्षण गरेका थिए । जसमा ९५ प्रतिशत जाँचको नतिजा सही निस्कियो र नतिजा निस्किने औषत समय २१ मिनेट थियो ।
यो पेनड्राइभमा रगतका केही थोपा हालिन्छ । पेनड्राइभमा लगाइएको मोबाइल चिप ल्यापटप तथा कम्प्युटरसँग जोडिएर इलेक्ट्रोनिक सिग्नल पैदा गर्दछ र पेनड्राइभले एचआइभी भाइरस पत्ता लगाउँछ ।
वैज्ञानिकहरुका अनुसार एड्स पत्ता लगाउने यो पेनड्राइभले चिकित्सा क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ ।मेडिकल ल्याब नभएका दूरदराज तथा दुर्गम क्षेत्रहरुमा एड्सको परीक्षणका लागि यो पेनड्राइभले ठूलो सहयोग गर्नेछ ।यद्यपि योे पेनड्राइभ प्रविधि अहिले निकै प्रारम्भिक अवस्थामा छ र यसलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन केही समय लाग्नेछ ।
No comments
Post a Comment