Latest News

Sunday, January 1, 2017

सन्तोष बुढाथोकी खुकुरी काण्डः यार्सागुम्बादेखि ठेक्कापट्टासम्म

घटनाका आरोपी मल्ल युवा संघकै सहयोगी भएको खुलासा
अनलाइनखबर,१७ पुस, नेपालगञ्ज । युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि खुकुरी प्रहार गर्ने व्यक्ति युवा संघकै नेताहरुको सहयोगी रहेको खुल्न आएको छ ।बिहीबार बेलुका कोहलपुरस्थित वेलकम कटेजमा खानपिन गरेर घर फर्कने क्रममा कोहलपुरकै लक्ष्मण मल्लले बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।
प्रायः युवा संघका सबै गतिविधिमा बुढाथोकीसँगै देखिँदै आएका लक्ष्मण एमालेकै सक्रिय कार्यकर्ता रहेको खुल्न आएको छ । यसअघि प्रशासनले लक्ष्मण कुनै पार्टीमा संलग्न नरहेको बताएको थियो ।आरोपी मल्ल बुढाथोकीका विश्वासपात्र भनेर चिनिएका थिए । विगत केही समययता मल्ल र बुढाथोकी जहाँ जाँदा पनि सँगै हुन्थे ।लक्ष्मणले कुनै रिसिबी साँध्न बूढाथोकीको हत्या प्रयास गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुरेशप्रसाद काफ्ले बताउँछन् ।
बाजुरा स्थायी घर भई कोहलपुर बस्दै आएका मल्ल केही समययता सन्तोषकै छत्रछायाँमा रहँदै आएको प्रहरीको भनाइ छ ।बाँकेमा एमालेद्वारा सञ्चालित हरेक आन्दोलनको अग्रमोर्चामा खटिँदै आएका मल्ल कतिपय कार्यक्रममा एमालेका शीर्ष नेताहरुसँगै पनि देखिन्थे । लक्ष्मणले सामाजिक सञ्जाल फेसबुकमा राखेका तस्बीरले समेत यस कुराको पुष्टि गरेको प्रहरीको दाबी छ ।एमाले कोहलपुर नगर अध्यक्ष खिलप्रसाद भुसाल र बाँके सचिव रत्न खत्रीसँगै लक्ष्मण मल्ल (रातो घेराभित्र)
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक काफ्लेले सन्तोष बुढाथोकी आफ्नै समूहका र निकटस्थ व्यक्तिबाटै आक्रमणमा परेको प्रारम्भिक निष्कर्ष निकालिएको बताए ।

उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट लक्ष्मण भन्ने व्यक्ति सन्तोषको एकदमै नजिक रहेर काम गर्दै आएको भन्ने थाहा भएको छ । दिनहुँजसो दुबैजना सँगसँगै हिँड्ने गरेका थिए । एमाले र युवा संघका विभिन्न आन्दोलनहरुमा पनि उनीहरु सँगै हुन्थे । तर, खुकुरी प्रहार गर्नुको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।’

मल्लले बुढाथोकीलाई पहिले ढोगे, पछि खुकुरी हाने
बुढाथोकीमाथि खुकुरी प्रहार गरेको आरोपमा कोहलपुर प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आक्रमणका मुख्य आरोपी मल्ल भने फरार छन् । तर, मल्ल निकटका व्यक्तिहरुलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको प्रहरी बताउँछ ।
पुस १४ गते राति साढे आठ बजेको समयमा कोहलपुरस्थित वेलकम बफ हट कटेजमा युवा संघका कार्यकर्ता ज्ञानबहादुर थापासँगै बसिरहेका सन्तोष बुढाथोकी घर फर्कने तयारीमा थिए । सोही बखत होटल प्रवेश गरेका लक्ष्मण मल्लले सन्तोषलाई सम्बोधन गर्दै हातमा ढोगेका थिए ।

खाजा खाइरहेका सन्तोषले लक्ष्मणलाई खाजाका लागि आग्रह गरे पनि उनले खाजा नखाने बताएका थिए । केही समय सँगै बसेका उनीहरु घर जाने भनी होटलबाट सँगै बाहिर निस्किए । होटलबाट बाहिरिएपछि स्कुटर पुछ्न झुकेका सन्तोष बुढाथोकीलाई अकस्मात पछाडिबाट लक्ष्मण मल्लले घाँटीमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । त्यसपछि लक्ष्मण फरार भए ।

घटनालगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिए पनि सन्तोषको अवस्था गम्भीर भएका कारण भारतको लखनउ रिफर गरिएको थियो । बुढाथोकीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिए ।

प्रमुख दुई घटनामा अनुसन्धान केन्द्रित
सन्तोष बुढाथोकीमाथि यसअघि समेत थुप्रैपटक आक्रमणको प्रयास भएको थियो । प्रहरीका अनुसार उनीमाथि नेपालगञ्जमा र कोहलपुरमा ४/५ पटक हत्या गर्ने मनसायका साथ आक्रमण भैसकेको छ ।युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण हुनुको वास्तविक कारण पत्ता लगाउन प्रहरी अहिले केन्द्रित छ ।
सन्तोष बाँकेका डन भनेर चिनिन्छन् ।
उनी पहिला टेन्डर कब्जा गर्ने अभियानमा संलग्न थिए । कसलाई टेन्डर दिलाउने र नदिलाउने भन्नेमा भूमिकामा उनको पनि हात हुन्थ्यो ।त्यसकै सिलसिलामा उनका बिरोधीहरुले पटक-पटक आक्रमणको प्रयास गरेका थिए ।

प्रहरीका अनुसार सन्तोष यार्सा गुम्बाको कारोबारमा समेत लागेका थिए । सन्तोष बुढाथोकी र लक्ष्मण मल्ल मिलेरै यार्सागुम्बा कारोबार गरेका थिए । उनीहरुबीच लेनदेनमा सामान्य विवाद पनि हुने गरेको थियो । यसैका कारण उनीहरुबीच मनमुटाव बढेको हुन सक्ने आशंका प्रहरीको छ ।

सन्तोषमाथि आक्रमण हुनुको अर्को कारणको खोजीमा पनि प्रहरी जुटेको छ । एमालेका सन्तोष बुढाथोकी र कांग्रेसका रिगल ढकालबीच पुरानो दुश्मनी थियो । उनीहरुबीच शक्तिको प्रतिस्पर्धा हुन्थ्यो । ढकालले यसअघि दुई पटकसम्म बुढाथोकीमाथि आक्रमण गरेका थिए । ढकाल हाल चेतन मानन्धरको हत्या अभियोगमा हिरासतमा छन् । हिरासतभित्रैबाट उनैले सन्तोषलाई आक्रमण गर्न आफ्ना मान्छेहरु परिचालन गरेको हुनसक्ने आशंका पनि प्रहरीको छ ।

घटनामा अनुसन्धानका लागि प्रहरीले शनिबार कांग्रेस निकट दुईजनालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा नेपालगञ्जमा कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए । पछि प्रहरीले ती कार्यकर्ताहरुलाई रिहा गरेको थियो ।

सन्तोष व्यक्ति हत्याको आरोपमा हिरासतमा बसेका व्यक्ति
त्यसो त सन्तोष आफै स्वच्छ छविका व्यक्ति होइनन् । उनी स्वयमलाई पनि एक व्यवसायीको हत्यामा संलग्न भएको आरोप लागेको थियो । कोहलपुरका ब्यवसायी मेजरमान श्रेष्ठको छोराको हत्या आरोप उनीमाथि पनि लागेको थियो । सो प्रकरणमा प्रहरीले सन्तोष बुढाथोकीलाई पक्राउ पनि गर्‍यो । तर, एक महिना हिरासत बसाइपछि उनी रिहा भए ।
सोही हत्यामा संलग्न भएको भन्दै सन्तोषकै समूहका एक ब्यक्ति अहिले पनि जेलमै छन् ।यतिबेला विभिन्न कोणबाट प्रहरीको अनुन्धान जारी रहे पनि अहिलेसम्म आक्रमणमा राजनीतिक कारण भने नदेखिएको बाँके प्रहरीले जनाएको छ ।

No comments

Post a Comment