बर बिहानी
नेपालगञ्ज, १ चैत । बाँके जिल्लाको गुलरिया–नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना प्रहरीले गोलि चलाएको छ । एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीसँगको झडपमा दुई जना मोर्चा कार्यकर्ता घाइते भएको जनाइएको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको बताएका छन् । नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई रोक्नेमात्रै आफूहरुको लक्ष्य रहेको मोर्चाका नेताको दाबी छ ।
सप्तरी घटनाको विरोधमा मोर्चाले मंगलबार बाँके बन्दको आह्वान गरेको छ । जिल्लाको शहरी इलाकादेखि ग्रामीण क्षेत्रमा मोर्चाको शान्तिपूर्ण प्रदर्शन जारी छ । मोर्चाको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले गोली प्रहार गर्नुका साथै अश्रु ग्यास र लाठी चार्ज गरिरहेको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राइनले जानकारी दिएका छन ।
अहिले बाँकेको सोनपुरमा मधेसी मोर्चा र प्रहरीबीच भिडन्त भैरहेको छ । जिल्ला प्रहरी कार्यालयले सोनपुरमा थप प्रहरी परिचालन गरेको बताइएको छ । बाँके बन्दको आव्हान गरेको मोर्चाका कार्यकर्ताले बाँकेको यातायात ठप्प पारेका छन् ।
स्थिति अनियन्त्रित भएपछि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको बताइएको छ । यसअघि एमालेको सभाका लागि कार्यकर्ता ओसार्न प्रयोग भएको गाडीलाई मोर्चा कार्यकर्ताले सोनपुरमा आगजनी गरेर ध्वस्त पारेका छन् ।
No comments
Post a Comment