काठमाडौ २८ फागुन । विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो ।
कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम शुल्कमा विश्व बजारमा सेवा पुर्याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको छ ।
चौधरी ग्रुपद्वारा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा मंगलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र जयपुर फुटका संस्थापक डा. डीआर मेहताले सयौं नागरिकलाई साक्षी राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कल्याणकारी कामका लागि मेहतालाई भारत सरकारले सन् २००८ मा पद्मभूषण र सन् २०१२ मा राजीव गान्धी नेसनल सद्भावना अवार्डबाट सम्मानित गरेको थियो ।
‘कुनै कारणवश खुट्टा गुमाउनेको पीडा वास्तवमा अकल्पनीय हुन्छ । उनीहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराएर पीडामा मलम लगाइदिने हाम्रो प्रयास हो’, चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडितलाई प्राथमिकता दिनेछौं ।’
समझदारीअनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृत्रिम खुट्टाका लागि आवश्यक पर्ने सामग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउनेछ । यसरी प्राप्त भएका सामग्रीबाट फाउन्डेसनले नेपालमै कृत्रिम खुट्टा तयार गरी निःशुल्क वितरण गर्नेछ । यसका लागि नवलपरासीमा उत्पादन केन्द्र खोलिने भएको छ । उत्पादन केन्द्र, प्राविधिक जनशक्ति एवं अन्य सञ्चालन खर्च चौधरी फाउन्डेसनले गर्नेछ ।
चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले यो परियोजनामार्फत चौधरी फाउन्डेसनको दायरा थप फराकिलो बनेको र मानव कल्याणका लागि संवेदनशील क्षेत्रमा योगदान पुर्याउन लागिएको बताए ।
अहिले नेपालमा उपलब्ध कृत्रिम खुट्टालाई २० हजार रुपैयाँदेखि एक लाख रुपैयासम्म पर्छ । आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडित यो पहलबाट लाभान्वित हुनेछन् । नेपालमा दुर्घटना वा अन्य कारणले खुट्टा गुमाउने पीडित धेरै छन् । कृत्रिम खुट्टा किन्न नसकेर धेरै पीडित घरमै खुम्चिएर बस्नुपरेको छ । अन्नपूर्णपोष्ट दैनिकले छापेको छ ।
No comments
Post a Comment