नारायण अधिकारी/उज्यालो ।
काठमाडौं, मंसिर १५ – गएको भदौ ५ गते इन्दिरा भट्टराई लगनखेलबाट रत्नपार्क जाँदै हुनुहुन्थ्यो । खचाखच भरिएको माइक्रोबस चढ्नुभएकी उहाँले रत्नपार्क ओर्लिएपछि मात्र थाहा पाउनुभयो खल्तीमा मोवाइल छैन । मोबाइल हराएपछि निराश हुनभएकी उहाँले कतिखेर मोबाइल चोरी भयो पत्तो नै पाउनुभएन । प्रहरीले मोवाइल पत्ता लगाउँछ रे भन्ने हल्ला सुन्नुभएकी भट्टईले महानगरीय प्रहरी परिसर ललितपुरमा मोवाइल हराएको भन्दै उजुरी हाल्नुभयो । मोवाइल भेटिने आश्वासनसहित उजुरी लिएका प्रहरीले तीनमहिना बितिसक्दा पनि मोवाइल नभेटेपछि भट्टराईले मोवाइलको माया मारिसकनुभएको थियो । तर उहाँलाई मंसिर १४ एउटा अपरिचित ल्याण्डलाइनबाट फोन आयो ।
तपाई इन्दिरा भट्टराई होइन ?’
डराए जसरी भट्टराईले जवाफ फर्काइन् ‘हो, किन र को बोलेको ?’
‘म प्रहरी बोलेको ललितपुरबाट, तपाईंले मोबाइल हरायो भनेर उजुरी गर्नुभएको थियो हैन ?’
‘हो । गरेको थिएँ ।’ आशालाग्दो स्वरमा भट्टराईले जवाफ फर्काउनुभयो ।
‘तपाईंको मोबाइल लिन आउनुस् हामीले फेला पारेका छौं’ प्रहरीले भने ।
तीन महिनाअघि हराएको मोवाइलको माया मारिसकेकी भट्टराईलाई सुरुमा प्रहरीको फोनले विश्वास लागेन । तैपनि उहाँ महानगरीय प्रहरी परिसर ललितपुर पुग्नुभयो, मोवाइल लिने झिनो आशासहित ।
मोवाइल धनी इन्दिरा भट्टराईलाई महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक अशोक सिंहले मावाइल हस्तान्तरण गर्नुभयो । उहाँ हँसिलो अनुहार बनाउँदै प्रहरीलाई धन्यवाद दिँदै जानुभयो ।
त्यस्तै गएको कात्तिक ४ गते मोवाइल हरायो भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिनुभएका अनुज तिवारीले पनि एक महिनापछि प्रहरीमार्फत आफ्नो हराएको मोवाइल फेला पार्नुभयो ।
तिवारी र भट्टराई त यस्ता प्रतिनिधि पात्र मात्र हुन् । प्रहरीले मोवाइल हरायो भनेर उजुरी गरेका धेरै जनाको मोवाइल फेला पारेर बुझाएको छ ।
उपत्यकामा हुने भिडभाडको फाइदा उठाउँदै मोवाइल चोरी हुने घटना बढ्दै गएको प्रहरीले जनाएको छ । हरेकजसो व्यक्तिको हातहातमा मोवाइल सेवाको पहुँच विस्तार भएसँगै हराउने तथा चोरी हुने क्रम पनि त्यसै अनुसार बढ्दै गएको छ । महँगा मोबाइल त्यसमाथि अति महत्वपूर्ण सूचना, जानकारी तथा फोन नम्बरसमेत गुमाउनु पर्दा झनै हैरानी पर्छ ।
तर, मोवाइलसम्बन्धी पर्याप्त जानकारी आफूसँग सुरक्षित राख्ने हो र समयमै प्रहरीमा उजुरी गर्ने हो भने हराएको तथा चोरी भएको मोबाइल फेला पार्न सकिन्छ । त्यसैले मोवाइल हरायो भनेर चुप लागेर नबसी उजुरी गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
‘अहिले बजारमा मोवाइल चोरीका घटना धेरै हुने गरेका छन्, हराएको मोवाइल भेटिन्छ भन्नेपनि धेरैलाई थाहा नहुन सक्छ, तर उजुरी गर्नुस् तपाईको मोवाइल हामी फेला पार्न सक्छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले भन्नुभयो ।
आइएमइआइ नम्बर सुरक्षित राख्नुस्
हराएको फोन पत्ता लगाउन अनिवार्य रुपमा इन्टरनेशनल मोवाइल इक्वीपमेन्ट आइडबेन्टिटी अर्थात आइएमइआइ नम्बर चाहिने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । ‘तपाईंको हराएको मोवाइलको आइएमआइ नम्बर छैन मोवाइल पत्ता लागाउन पनि सकिंदैन, त्यस्तो निवेदन हामी लिदैनौं पनि’ प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो ।
आइएमइआइ नम्बर भएका मोवाइल हराएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिने प्रहरीले जनाएको छ ।आइएमइआइ नम्बरका आधारमा सम्बन्धित मोवाइल ट्रयाक गरिन्छ । यसरी ट्रयाक गरिसकेपछि मोवाइलमा नयाँ सिम प्रयोग हुनेबित्तिकै मोवाइल नम्बरका आधारमा प्रहरी सम्बन्धित व्यक्तिसम्म पुग्ने गर्छन् । र उनीहरुबाट त्यो मोवाइल लिइने र उनीहरुलाई कारबाही गरिने प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताउनुभयो । मोबाइल ट्रयाक गर्ने कार्य मोवाइल सेवा प्रदायकहरूले प्रहरीको अनुरोधमा गर्दै आएका छन् ।
दैनिक एकसय भन्दा बढी उजुरी
दैनिक कति मोवाइल हराउँछन् भन्ने यकिन तथ्याङ्क छैन । कतिका त प्रहरीमा उजुरी नै आउँदैनन् । चोरी तथा हराएको भनेर प्रहरीकहाँ दर्ता हुने उजुरी मात्रै तथ्याङ्कमा देखिने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मोवाइल काठमाडौं उपत्यकामा नै हराउँछन् ।
काठमाडौं परिसरको तथ्यांक अनुसार, अघिल्लो वर्ष काठमाडौंमा ८ हजार ६ सय १६ वटा मोवाइल हराएको उजुरी परेका थिए । जसमध्ये प्रहरीले ६ सय ६१ वटा मोबाइल फेला पारेर मोवाइल धनीलाई बुझाएको थियो । काठमाडौं परिसरकै तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७३७४ मा अहिलेसम्म चारहजार तीनसय चारवटा मोवाइल हराएको उजुरी परेको छ भने तीमध्ये एक हजार दुई सय ६३ वटा मोवाइल फेला पारी सम्बन्धित मोवाइल धनीलाई बुझाएको तथ्याङ्क छ । अघिल्लो वर्ष जम्मा सात प्रतिशत मात्रै फेला परेको मोवाइल यो पटक भने झण्डै तीस प्रतिशत भेटिएको छ ।
परिसरकै तथ्याङ्क अनुसार दैनिक ३२ वटा भन्दा बढी उजुरी मोवाइल हरायो भन्दै पर्ने गरेको छ। अपराध महाशाखामा पनि परिसरकै हाराहारीमा मोवाइल हरायो भन्दै उजुरी पर्ने गरेको छ । यता ललितपुर प्रहरी पसिसरमा दैनिक पाँचवटा भन्दा बढी उजुरी मोवाइल हरायो भन्दै आउने गरेको प्रहरी नायव उपरीक्षक इश्वर कार्कीले बताउनुभयो । यसरी अन्य विभिन्न प्रहरी इकाइ पनि उजुरी पर्ने गरेकाले देनिक एक सय भन्दा बढी उजुरी मोवाइल हरायो भन्दै पर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रमुख बिक्रम सिंह थापाले बताउनुभयो ।
- तस्बिर : महानगरीय प्रहरी परिसर ललितपुर
No comments
Post a Comment