लाइट नेपाल
काठमाडौं, १३ वैशाख । कांग्रेसका तर्फबाट गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि छन् । तर, गृहप्रशासनका कामकारबाही उनले पत्रपत्रिकामा समाचार आएपछि मात्र थाहा पाउने गरेका छन् । गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृहमन्त्री निधिसँग समन्वय नै नगरी गृह मन्त्रालय हाँक्ने गरेका छन् । दृष्टि न्युजले समाचार लेखेको छ ।
उनले गृहमन्त्रालयका कामकाज आरजु देउवासँगको सल्लाहमा गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको आडमा उनले गृहमन्त्रीलाई जानकारी नै नदिई नेपाल प्रहरी र सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका सरुवाबढुवा मात्रै होइन, अति गोप्य सूचना पनि विदेशीलाई बेच्दै आएको आरोप छ । सोमबार डीआइजी नवराज सिलवाललाई पक्राउ गर्ने योजना गृहसचिव रेग्मी र आइजीपी प्रकाश अर्यालले आइतबार बेलुका नै तय गरेको स्रोतले दृष्टिलाई बतायो ।
आइतबार बाराको सिमरामा भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा भाग लिएर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा ओर्लिएपछि गृहसचिव रेग्मी र आइजीपी अर्यालबीच केहीबेर कुराकानी भएको थियो । त्यो कुराकानी सिलवाललाई पक्राउ गर्ने र कीर्ते मुद्दा लगाई फसाउने बिषयमा भएको अनुमान सोमबार बिहानै पुष्टी भएको छ । तर यो कुराकानीबारे गृहमन्त्री निधिलाई कुनै जानकारी नै दिइएको थिएन ।
सोमबार बिहान सिलवाल पक्राउपछि मात्र निधिले थाहा पाएका थिए । गोष्ठीमा आईजी अर्याल र गृहसचिव रेग्मी यही कुरालाई लिएर निकै तनावमा देखिन्थे । गृहसचिव रेग्मीले मन्त्री निधिलाई जानकारी नदिई दोस्रो बरियता स्वीकार गरेका प्रकाश अर्याललाई मुद्दा फिर्ता लिन लगाएर कार्यसम्पादन मूल्यांकनको नम्बरमा चलखेल गरी आइजीपीमा बढुवा गरेका थिए । उनले गरेको बदमासी खुल्नसक्ने भएकाले सिलवाललाई फसाउन आइजीपी अर्याल र रेग्मीबीच सिमरामै कुराकानी भएको स्रँेतको दाबी छ ।
सिलवाललाई कीर्ते मुद्दामा २५ दिन थुनामा राखेपछि सिलवाल स्वतः निलम्बन हुने भएकाले यो खेल उनीहरुले खेलेका थिए । तर बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश कार्कीले उनलाई सोमबारै रिहा गरेपछि गृहसचिव रेग्मीको षड्यन्त्र चकनाचुर भएको छ । प्रकाश अर्यालले पछिल्लो आर्थिक बर्षको कासमु साउन ७ गतेभित्र भर्नुपर्नेमा साउन ३० गते भरेकाले अदालतले त्यो नम्बरलाई बदर गर्नसक्ने देखेरै सिलवाललाई फसाउने डिजाइन सचिव रेग्मीले सिमरामै बनाएको उच्च स्रोतले दृष्टिलाई बतायो । त्यस्तै गृहसचिव रेग्मीले सशस्त्रको डीआइजी बढुवामा ठूलो रकम घुस खाएको कुरा बढुवाका प्रतिस्पर्धी एसएसपीहरुले गुनासो गरेका छन् ।
नेपाल प्रहरीको एसएसपी बढुवामा पनि फाइल थन्क्याएर गृहसचिव रेग्मीले घुस मोलमोलाई गरिरहेको स्रोत बताउँछ । आरजुको नाम लिंदै उनले घुस मोलमोलाई गर्दैआएका छन् । प्रचण्डपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुने भएकाले उनले गृहमन्त्रालयका काम सबै आरजुकै सल्लाहमा गर्दैआएका छन् । आगामी साउनमा रिक्त हुने मुख्यसचिव हुनका लागि उनले आरजुलाई आफ्नो प्रभावमा राख्दैआएका छन्् । मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक निर्देशकमा नियुक्ति भइसकेका छन् । उनी आगामी साउनदेखि एडीबीको जागिरमा गएपछि मुख्यसचिव हुने दाउमा लोकदर्शन छन् ।
मुख्यसचिवका दाबेदार बरिष्ठताका आधारमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका शान्तबहादुर श्रेष्ठ हुन् । तर देउवाले नेपाल प्रहरीमा जस्तै धेरै कनिष्ट रेग्मीलाई मुख्यसचिव बनाउने बचन दिइसकेकाले गृहमन्त्रालयका काम आरजुकै आदेशमा हुने गरेका छन् । सचिव रेग्मीका बाबु कांग्रेस महासमिति सदस्य हुन् । उनलाई शेरबहादुर देउवाका निकट सांसद कमल पंगेनीको जोडबलमा उनी गृहमन्त्रालयको सचिव भएका हुन् । गृहसचिव रेग्मीविरुद्ध अकूत सम्पत्तिबारे अख्तियारमा उजुरी परेको छ ।
No comments
Post a Comment