जीवनमा कतिबेला कस्तो दुर्घटना पर्छ कसैलाई थाहा हुन्न । जीवनमा अकस्मात घटेका दुर्घटनाहरुले दुर्घटनामा पर्ने मात्र हैन्,उससँग जोडिएका सबै सम्बन्धहरुलाई तहसनहस पारिदिन्छ । रसुवाकी कविता तामाङको जीवनमा यस्तै घटना घट्यो । हजारौ सपना सजाएर बैदेशिक रोजगारमा गएकी उनी ईराकमा बेचिन पुगिन् ।
त्रिभुवन विमानस्थलबाट जहाज चड्दा पैसा कमाएर फर्केर पढ्ने, घरको अवस्था सुधार्ने र बुवा ममीलाई सुख दिने सपना थियो । तर, जहाज ल्यान्ड भएको केही घण्टापछि नै उनको सपना एकपछि अर्को गरि चकनाचुर हुन् थाल्यो । उनले कल्पनै नगरेको कुराहरु उनकै जीवनमा घट्दै गयो । उनले सहँदै गईन् ।
१६ महिना अघि ईराकमा बेचिन पुगेकी कविता एक महिना अघि मात्र नेपाल आएकी हुन् । उनलाई ईराक पुर्याउने ‘लाटा’ भनेर चिनिने साम्देन लामा थिए । उनकै गावीसका अन्य ३ युवतीलाई समेत साम्देन लामाले ईराकमा बेचेको कविता बताउछिन् । ती तिन मध्ये लाङची तामाङ ३ दिनअघि ईराकबाट काठमाडौं आउन सफल भएकी छिन् । अन्य दुई दिदी बहिनी अझै पनि ईराकमै यातना सहेर बस्न बाध्य छन् ।
कविताको अनुसार ईराकमा पचास हजार भन्दा बढी नेपाली चेलीहरु बेचिएका छन् । नेपालकै एयरपोर्ट र भारत श्रीलंकाको बाटो हुदै जानेहरु धेरै छन् । नेपाली चेलीहरुले ईराकमा गएर दैनिक २० घण्टा भन्दा बढी काम गर्दापनि यातना सहनुपरेको कविता बताउछिन् ।
कविता कसरी पुगिन् ईराक ?
उनको परिवारको आर्थिक अवस्था दयनीय थियो । बिहान बेलुका हात मुख जोर्न समस्या थियो । परिवार र आफुलाई केही राम्रो होस् भन्ने चाहनाले उनले नयाँ केही काम गर्ने सोचिरहेकी थिइन् । देशमा रोजगार थिएन् । आम्दानी गर्नको लागि विदेश जानुको विकल्प थिएन् ।
भुकम्पले गर्दा घर भत्किएको थियो । घरको अवस्था सुधार गर्न उनले विदेश जाने सोच बनाएकी बनाईन् । त्यति नै बेला उनको भेट आफन्त पर्ने साम्देन लामासंग भयो । लामाले उनलाई अनेकौ प्रलोभन देखाए । उनले पठाएका मान्छेहरुले धेरै प्रगती गरेको उदारण दिए । साम्देनले विदेशमा रहेका नेपाली चेलीहरुलाई पनि फोनमा कुरा गर्न लगायो । कविताले ती चेलीहरुसंग कुरा गरिन् । उनीहरुले काम र तलब राम्रै भएको जानकारी दिए । ‘आफ्नै नजिकको मान्छेले भनेको किन नमान्नु ? दुनियाले राम्रै कमाएका छन् म पनि जान्छु ।’ यही सोचेर उनी जान तयार भईन् ।
विदेश जान उनीसँग पैसा थिएन् । उनलाई ८० हजारको आवश्यक पर्याे । साम्देनलाई पैसा हाल्न आग्रह गरिन् । तर, उसले पैसा हालिदिएन् । मासिक ४० हजार कमाउने भएपछि २ महिनामा तिरिहालिन्छ भन्ने सोचेर उनले ऋण खोजिन् । ऋण गरेरै जानको लागि तयार भइन् ।
यसअघि पनि उनी दुवई गएर आएकी थिईन् । दुवईमा काम र तलव रामै् थियो । ३ वर्ष बसेर आउदा अलिअलि पैसा जम्मा भएको थियो । त्यो पैसाले पढ्ने धोको र अन्य काम गर्ने सोच भुकम्पले तहसनहस पारिदिएको थियो । भुकम्पपछि बस्न खान सबै गर्दा पैसा सकिसकेको थियो । त्यसैले आफ्नो धोको पुरा गर्न उनी विदेश जानै पर्ने थियो । ‘४ सय डलर कमाउने भएपछि किन नजानु ?’ उनी यस्तै सोचेर जान तयार भएकी थिईन् ।
साम्देनले कविता काम गर्न जाने ठाउँ ईराक भनेको थिएन् । कुर्दिस्थान ईराकमा पर्छ भन्ने कवितालाई जानकारी थिएन् । कुर्दिस्थान छुट्टै देश भन्ने भ्रममा कविता थिइन् । तर, कुर्दिस्थान ईराकमा पर्दो रहेछ । ईराक भन्ने थाहा पाएको भए उनी त्यहाँ नजाने बताउछिन् ।
कविता तामाङ
नेपाली चेली बेच्न श्रम विभाग र एयरपोर्टबाट नै सेटिङ हुदाँे रहेछ
ईराक जान नेपालीहरुलाई प्रतिबन्ध लगाएको देश हो । कविताको भिसामा कुर्दिस्थान लेखिएको थियो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै उनी गएकी थिइन् । ‘नेपाली जान प्रतिबन्ध देशमा कसरी भिसा लाग्यो ? विमानस्थलका कर्मचारीहरुले कसरी छिराए ?’ उनी प्रश्न गर्छिन् ।
त्रिभुवन विमानस्थल छिरेको दिन सम्झदैँ कविता भन्छिन्–‘ विमानस्थलबाट छिर्ने समयभन्दा १० मिनेटपछि हामीलाई छिरायो । हामीलाई भनिएको थियो हाम्रो मान्छे आएपछि मात्र छिर्नु । चेक गर्ने ठाउँको एउटा मान्छे गएपछि अर्को आयो । त्यसले सबै कागजात चेक गरेर छिरायो । पहिलाको मान्छेले मलाई छिराएन् । अहिले आएर बल्ल बुझेँ नेपाली चेलीहरुलाई ईराकमा बेच्न श्रम विभाग र विमानस्थलबाट नै सेटिङ हुदोँ रहेछ ।’
त्रिभुवन विमानस्थलबाट राजेश विष्ट नाम गरेको मान्छेले सबै एयरर्पोट सेटिङ मिलाउने कविता बताउछिन् । विष्टले दुवई पुगेपछि दुवईको भिसा च्यातेर फ्याक्न लगाएको थियो । दुवईबाट उनलाई कुर्दिस्थान लैजाने कुरा थियो । त्रिभुवन विमानस्थलमा कसैले सोध्यो भने ‘दुवई जान लागेको’ भन्नु भनेर सिकाएको थियो ।
दुवईमा प्लेन ल्याण्ड भएपछि दुवई विमानस्थलमा कविताले २२ घण्टा कुरिन् । राजेन्द्र नाम गरेको मान्छे उनलाई लिन आयो । राजेन्द्रभन्दा पहिले अर्को मान्छे विमानस्थलमा आएको कविता बताउछिन् । पहिला आउने मान्छेको हातमा कविताको टाउको र अरु कसैको ठुलो शरीर भएको फोटो थियो । उनलाई त्यो देखेपछि केही गडबड छ भन्ने शंका लागिसकेको थियो ।
लाङ्ची तामाङ
म जस्ता हजारौ नपाली चेलीहरु ईराकमा बेचिएका छन्
त्यसपछि राजेन्द्रले उनलाई लिएर गयो । दुवई विमानस्थलमाबाट उनी अर्को एकजना दाङको नेपाली चेलीसंग उड्न् । दुवईबाट ईराकको अर्विल भन्ने ठाउँमा पुगिन् । त्यहाँ एउटा अरबी मान्छे उनीहरुलाई लिन आयो । त्यहाँबाट एउटा होटेलमा लग्यो । त्यो होटेलमा केटाहरु मात्रै थिए । ठाउँ अत्यन्तै गर्मी थियो । होटेलको कोठाको ढोका लाएर बस्न दिएन् । त्यसपछि उनको शंका सत्यतामा परिणत भयो ।
राती १० बजे अचानक त्यहाबाट पनि उनलाई ट्याक्सीमा हालेर लगे । त्यो ठाउबाट ४ वटा गाडी परिवर्तन गरेपछि उनी अलमिन भन्ने मानिसको सम्र्पकमा पुगिन् । अलमिनले नेपालबाट पठाएका चेलीहरु जम्मा गरेर बेच्ने गर्दो रहेछ । अलमिनको अफिसमा पुग्दा उनीजस्ता थुप्रै नेपाली चेलीहरु थिए । तर, त्यहाँ एक अर्कालाई बोल्न समेत दिदैन थियो ।
त्यहाँ जम्मा भएका चेलीहरुलाई अलमिनले पालैपालो बोलाउने गर्दोरहेछ । अलमिनले सुरुमै कवितालाई बोलायो । त्यहाँपनि कविताको अनुहार र ज्यान अरुकै भएको फोटो थियो । कविताको फेसबुक सर्च गरेर खोज्यो । सबै कुरा हेरेपछि अमिनले उनलाई गिद्धे नजरले हेर्न थाल्यो ।
नेपाली चेलीमाथि यौन शोषण
‘यति राम्रो मान्छे काम नगरेपनि पैसा कमाईन्छ । मसंग सेल्फी खिच ।’ यस्तो भन्दै अलमिनले उनलाई हातपात गर्न खोज्थ्यो । उनी प्रतिकार गर्थिन् । ‘जे काममा ल्याएको त्यही काममा पठाउनुँ, उनी यस्तै भन्थीन् । ‘यहाँ आउने प्रेत्येक नेपालीले मसंग रात बिताएको छ । तिमीले पनि बिताउनुपर्छ । मैले भनेको मानेन् भने नराम्रो घरमा पठाईदिन्छु । तिम्रो विचल्ली हुनेछ् ।’ अलमिनले यस्तै भनेर धम्क्यायो । अलमिनको कुरा उनले मानिनन् । त्यहाँबाट निस्केर माथी कोठामा भागिन् ।
अलमिनको अफिसमा नेपालबाट लगेका नेपाली दिदीबहिनीहरुलाई किन्न धेरै मान्छे आएको उनले प्रत्यक्ष देखिन् । किन्न आउनेहरुले सबै चेलीहरुलाई जम्मा पारेर फोटो खिच्थे । फोटो खिचेर मन परेकोलाई उनीहरुले किन्थे । उनीहरुको रोजाइमा बलिया, राम्रा र भाषा बुझ्ने चेलीहरु पर्थे ।त्यही प्रक्रियामा उनलाई एउटा परिवारले किन्यो । ५ दिन अलमिनको अफिसमा बसेपछि उनी १३ सय डलरमा बेचिएकी थिइन् । उनी पुगेको घरको श्रीमान पुलिस थियो भने श्रीमती डाक्टर थिईन् ।
मासिक ४० हजार दिने भनिएपनि उनी ३५० ईराकी डिनारमा काम गर्न बाध्य भइन् । त्यहाँ पुगेको ३ महिनासम्म उनलाई ठिकै थियो । त्यसपछि उनले नसोचेको कष्ट पाईन् । दैनिक २० घण्टा भन्दा बढी काम गर्नुपथ्र्यो । घर सफा गर्ने भाँडा माझ्ने जस्तो काम जत्ति गरेपनि कहिल्लै सकिदैनथ्यो । अलिकति केही काम बिग्रियो भने सुरुदेखि नै गर्नुपथ्र्यो । न खानाको ठेगान थियो, न सुत्नकै । न घरपरिवारसंग सम्र्पक थियो, न कतै हिडडुल गर्न पाईन्थ्यो । उनी पिंजडाको चरी जस्तै भएकी थिईन् ।
यहाँबाट भाग्न खोजिस् भनि यतै कुहिएर मर्छेस भन्थे
उनी दैनिक यातना सहेर बस्न बाध्य थिईन् । कसैसँग गुहार माग्न सम्भव थिएन् । अलिकतीपनि मानबता नभएको ठाउको मान्छेहरुले उनको दुख बुझ्दैनन् थिए । उनी विरामी भईन् । हिड्न नसक्नेगरि खुट्टामा घाउ भएको थियो । तैपनि काम गर्नुपथ्र्यो । मर्ने लाग्दा पनि काममा दलाउथे तर, अस्पताल कहिल्लै लगेनन् ।
त्यहाँ पुगेको ९ महिना पुग्दा नेपालमा उनको दाईको मृत्यु भयो । उनी असाध्यै बिरामी थिईन् । उनले घर पठाईदिन काम गर्ने ठाउमाँ आग्रह गरीन् । ‘तँलाई १३ हजार डलरमा किनेको हो । १३ हजार डलर तिर् अनि कहाँ जान्छेस् जाँ । पुलिसका सबै हामीले चिनेका मान्छे छन् । तँ यहाँबाट निस्किस् भनि यतै कुहिन्छेस् । नेपाल जान पाउदिनस् ।’ उनलाई यस्तै तुच्छ वचन बोलेर नेपाल आउन दिएनन् । उनीसंग एक्लै भएको बेला रुनुुबाहेक केही विकल्प भएन् ।
उनले यू ट्युब मार्फत सिधा कुरा जनतासंग कार्यक्रम हेरेकी थिईन् । त्यो कार्यक्रममा आफ्नो कुरा राख्दा केही मदत मिल्थ्यो कि भन्ने आश उनलाई भयो । फेसबुकमा सिधा कुरा जनतासंगको पेजमा म्यासेज पठाईनन् । त्यसपछि स्काईपमा आउनु भन्ने प्रतिक्रिया आयो । उनले लुकेर कार्यक्रममा आफ्नो कुरा राखिन् । कार्यक्रममा बोलेपछि उनको रातभरी आशु थामिएन् । त्यस कार्यक्रमपछि उनलाई उद्धार गर्न शक्ति महिला समुह अगाडी आयो । कार्यक्रममा बोलेको २ महिनापछि उनको सकुशल उद्धार भयो ।
कसैलाई केही भन्यो भने जेल हाल्ने र फासीँको सजाय दिन्छु भनेर उनलाई बेलाबेलामा धम्की आउथ्यो । तैपनि उनले हिम्मत गरीन् । हिम्मत गरेकै कारणले आफु नेपालमा सकुशल फर्केको बताउछिन् ।
उनी ईराकमा बिताएको १६ महिनाको दुख शब्दमा व्यक्त गर्न नसक्ने बताउछिन् । त्यो सम्झिदाँ आशु रोकिदैन् । प्रत्येक दिन एक्लै रुन्थे । सकिनसकि काम गर्थे ।’ उनले भनिन्–‘म ईराकमा नर्कमा थिए । बल्ल नर्कबाट मुक्ति पाएको छु ।’
चेली बेच्ने दलाललाई प्रहरीले पक्रेर किन छोड्यो ?
कविता ईराकमा हुदाँ उनलाई ईराक पुर्याउने साम्देन लामा जेलमा थिए । नेपाल फर्कदा साम्देन जेलबाट छुटिसकेका छन् । साम्देन अहिले सम्र्पविहिन छन् । साम्देनको विरुद्ध उनले उजुरी दिएकी छिन् । उनको अनुसार साम्देनले सिन्धुपाल्चोक लगायत धेरै जिल्लाहरुबाट ईराक लगायत भारतजस्तो देशहरुमा धेरै नेपाली चेलीहरुलाई बेचेको छ । उनी प्रश्न गर्छिन्–‘ नेपाली चेलीहरु बेच्ने साम्देनलाई प्रहरीले पक्रेर किन छोड्यो ? मैले किटानी उजुरी दिएको १ महिना बित्दापनि किन समातेन् ?’
ईराकबाट तिन दिनअघि नेपाल फर्केकी लाङची तामाङले पनि साम्देन विरुद्ध किटानी उजुरी जाहेरी गर्ने बताउछिन् । कवितालाई जस्तै उनलाई पनि साम्देनले नै ईराक पु¥याएको थियो । उनको चाहना छ जसरी हुन्छ साम्देनलाई कानुनको कठघरामा उभ्याउने । कविता र लाङ्ची जस्तैउनीहरुको गावीसबाटै साम्देनले २ दिदीबहिनीलाई पनि ईराक पुर्याएको छ । लाङ्ची भन्छिन्–‘ हामी जस्ता धेरैलाई साम्देनले नर्कमा पुर्याएको छ । भुकम्प पिडित जिल्लाको धेरै चेलीहरु ईराकमा छन् । उनीहरुको उद्धार र त्यहाँ पुर्याउनेहरुलाई कारवाही गर्नको लागि सबैसंग आग्रह गर्दछु ।’
उनको एउटै चाहना छ– उनीजस्ता हजारौ चेलीबेच्ने दलालले सजाय पाओस् । उनको जस्तै दुख भोगोस् । त्यसैले उनी साम्देनलाई पक्रन सहयोग गर्न सबैलाई आग्रह गर्छिन् । विदेशमा दुख पाएर बसेका चेलीहरु आफै पनि फर्कनको लागि शाहस गर्न आग्रह गर्छिन् ।
भविष्यको योजना र चाहना
कविताले १ वर्षको पैसा पाएपनि बाकी ६ महिना काम गरेको पैसा पाईनन् । फर्कदा उनी रित्त्तो हात फर्किइन् । तैपनि नेपाल आउन पाउदाँ उनी खुसी छिन् । उनले ईराकमा हुदाँ पार्थना गर्थिन् –‘हे भगवान नेपालमै मर्न पाउँ ।’ त्यो पार्थना अहिले पुरा भएको उनको भनाई छ ।
ईराकबाट उद्धार भएर आएपछिको जीवनलाई उनी पुर्नजन्म भएको मान्छिन् । विगतमा जे भयो त्यससलाई भुलेर अघि बढ्ने उनको चाहना छ । पढ्ने चाहनाले नै बेचिन पुगेकी उनी धेरै पढ्न चाहन्छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले काम नगरि उनलाई सुख छैन् । छोटो उमेर धेरै संर्घष गरेकाले उनले लक्ष्य पछ्याइसकेकिछिन् ।
उनी उनीजस्ता विदेशमा दुख पाएका चेलीहरुको उद्धार गर्न चाहन्छिन् । उनको जस्तो कसैले दुख नपाओस्, कोही नेपाली चेली विदेशीनु नपरोस् भन्ने चाहना छ । विदेशमा गएका चेलीहरुलाई नेपाल कसरी फर्कने ? उनी सिकाउदै छिन् ।
उनकै कारणले ३ दिनदिन अघि ईराकबाटै लाङची तामाङ नेपाल फर्केकि छिन् । उनले दवाव दिएको कारण लाङची तामाङ फर्कन सफल भएकी हुन् । लाङची जस्तै अन्य धेरै चेलीहरुले उनलाई नेपाल फर्काउन सहयोग गर्न आग्रह गरेका छन् । उनले सक्दो प्रयास गरिरहेकी छिन् ।
प्रस्तुतिः सागर बुढाथोकी
No comments
Post a Comment