Latest News

Friday, April 14, 2017

पठाउने दलाल भन्छन् मैले साउदी बेचिदिएको चेलीले – चालै पाएनौँ

काठमाडौं । साउदी अरबमा विगत ४ वर्षदेखि बन्धक नेपाली चेलीलाई सोमबार नेपाली दूतावास र नेपाली साझा मञ्चको सहकार्यमा उद्धार गरिएको समाचार (सुरक्षाकर्मीको भिसामा बेचिँदै नेपाली चेली, सुनिताको उद्धारसँगै खुल्यो रहस्य) बाह्रखरीमा पोस्ट भएपछि वैदेशिक रोजगार व्यवसायी संघले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।संघका महासचिव रोहन गुरुङले विकृत तथ्य फेला परेको भन्दै यसमा वैदेशिक रोजगार व्यवसायी संघको चासो रहेको बताए । वैदेशिक रोजगार व्यवसाय विकृत भइरहेको सरकारी ठम्याइ र श्रम, परराष्ट्र र
गृह मन्त्रालयले समेत वैदेशिक रोजगार व्यवसायलाई नजिकबाट नियालिरहेको अवस्थामा यस्तो घटना बाहिर आउँदा सम्पूर्ण व्यवसायीमाथि नै नकारात्मक सन्देश जाने भन्दै महासचिव गुरुङले दोषीलाई पहिचान गरी कानुनी कठघरामा उभ्याउन सहयोग गर्ने बताए ।
यो कारबाहीको विषय हो, सम्पूर्ण म्यानपावरमाथि नै यसले प्रश्न उठाएको छ,” उनले भने । गुरुङले घटनाको यथार्थ बुझ्न अनुसन्धान प्रकृया अघि बढाउन आवश्यक रहेकोमा पनि जोड दिए ।

नेपालको सत्यम इन्टरनेसनल सर्भिस प्रालिले दुबईस्थित पावर सेक्युरिटी सर्भिस कम्पनीले कामदार माग गरेको भनी वैदेशिक रोजगार विभागमा एलटी ५४१६३ बाट १ सय २५ जना महिला तथा पुरुषलाई सुरक्षाकर्मीको रोजगारीमा पठाउने भन्दै ०६९ पुस ५ गते श्रम स्वीकृति माग गरेको थियो ।

विभागले २८ महिलासहित ४९ जनालाई ०६९ माघ ०७ गते स्वीकृति दिएको थियो । स्वीकृत सूचीमा राहदानी नं। ०६१९०१२३ रहेकी १९ वर्षकी सुनीता ब्लोन पनि थिइन् ।

सन् २०१३ जनवरी २५ मा एयर अरेबियामार्फत दुबई पुर्याइएकी सुनीतालाई प्रतिमहिना १२ सय १५ दिनार तलब दिने सम्झौता भएको थियो । दुबईमा रहेको पावर सेक्युरिटी सर्भिस कम्पनीले सेक्युरिटी गार्डको अनुमति लिएको भए पनि उनलाई घरेलु कामदार बनाएर पठाइएको थियो ।

सत्यम म्यानपावर अर्कैको हातमा, ४ वर्षमा दुई पटक बिक्री

सुनीता ब्लोनलाई सुरक्षागार्डका रूपमा दुबई पठाउने म्यानपावर एजेन्सी ४ वर्षमा दुई पटक बिक्री भइसकेको छ । पहिले सामाखुसीमा रहेको यो म्यानपावर अहिले काठमाडौंस्थित तीनकुनेमा रहेको छ ।

एक वर्षअघिदेखि यो म्यानपावर दुर्गाबहादुर थापा र नारायण पराजुलीले सञ्चालन गरिरहेका छन् । बाह्रखरीसँग कुराकानी गर्दै हालका सञ्चालक थापाले तनहुँका गजेन्द्र भण्डारीसँग म्यानपावर किनेको बताए । उता, गजेन्द्र भण्डारीले पनि एक वर्षसम्म म्यानपावर सञ्चालन गरेर थापालाई बिक्री गरेको बताए । दुबई र साउदी अरबका लागि कामदार कहिल्यै नपठाएको दाबी पनि उनले गरे । उनले भने, “हामीले मलेसिया र कतारमात्र पठाउँथ्यौँ । साउदीका लागि अनुमति लिएका थिएनौँ ।” भण्डारीले पनि यो म्यानपावर शान्ति केसी र वासुदेव अधिकारीसँग खरिद गरेको बताए ।
वासुदेव अधिकारीसँग सम्पर्क गर्दा उनले यो घटना भर्खरमात्र थाहा पाएको बताए ।

सबै प्रमाण र आधिकारिकता आफूले सञ्चालन गरेको म्यानपावरबाट देखिएकाले यसलाई अस्वीकार नगर्ने प्रतिकृया उनले दिए । अलपत्र परेका चेलीको उद्धार गर्न सहयोग गर्ने उनले बताए ।

“भिसा आएपछि कानुनी प्रकृया पूरा गरेर दुबई पठाएका हौँ, पहिले यस विषयमा कम्प्लेन पनि आएन । न उहाँहरूको परिवारले खबर गर्नु भयो, न उहाँहरुले नै सम्पर्क गर्नुभयो,” अधिकारीले भने, “मैले त भर्खरै थाहा पाउँदैछु ।”

२ वर्षको श्रमसम्झौतामा पठाएको भन्दै अधिकारीले उनीहरू बेचिएको विषयमा अनविज्ञ रहेको बताए । पछि आफूले म्यानपावर बिक्री गरेको उनले बताए । हाल अधिकारी वैदेशिक रोजगारीकै क्षेत्रमा दलालका रूपमा काम गरिरहेका छन् ।

No comments

Post a Comment