काठमाडौं । मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ ।
यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।
किन आउँछ मुखमा घाउ–खटिरा ?
खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।
कसरी समाधान गर्ने ?
— मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
— पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
— हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
— बढी चिल्लो नखाने
— हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने
— पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
— बदाम भिजाएर खाने
— मह घाउमा लपक्क लगाउने
— निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
— जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।
— बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ । तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ । खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।
-साभार dcnepal
No comments
Post a Comment