काठमाडौँ – कुनैबेला काठमाडौंका डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन्। पछिल्लो समय तिनै डनको सिको गर्दै काठमाडौंका विभिन्न चोक र टोलमा किशोर अवस्थाका युवाहरू ‘टोले दादा’ का रूपमा ‘ग्याङ फाइट’ मा उत्रिन थालेका छन्।
बुधबार राति काठमाडौं पशुपति वनकाली क्षेत्रमा युवा समूहबीच चक्कु हानाहानबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । झडपमा १९ वर्षीय सोनाम तामाङको मृत्यु भएको छ। १८ वर्षीय विजय गुरुङ घाइते भएका छन्। प्रहरीका अनुसार सोनाम र विजयको समूहले यसअघि अर्को समूहलाई कुटेको थियो। सो समूहले बदला लिन उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–९, गौशालास्थित पशुपति एरियामा बस्ने ३५ वर्षीय डीके भन्ने व्यक्तिको समूहले उनीहरूको समूहलाई आक्रमण गरेको हो।
यसअघि राजधानीको क्षेत्रपाटीमा भएको ग्याङ फाइटमा एकजनाको मृत्यु भएको थियो। युवतीको विषयलाई लिएर भएको ग्याङ फाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको थियो। त्यस्तै, गत साउनमा मदिरा सेवन गरी ग्याङ फाइट गर्ने सात युवती पक्राउ परेका थिए। बालकुमारीस्थित गुडविल डान्सबारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गर्ने युवतीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।राजनीतिक कार्यक्रम र टेन्डरको विषयमा ग्याङ फाइट हुने त्रिचन्द क्याम्पस भने पछिल्लो समय शान्त भएको प्रहरीले जनाएको छ।आजको राजधानी दैनिकमा खबर छ ।
No comments
Post a Comment