बर्दिबास । राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ, दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भनिन्, पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु। पानी पर्दा छानो चुहिन्थ्यो। जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें। तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो।
नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ। बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उनले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन।
धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो। मुहारको त्यो चमकले उनको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो।
पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन्। मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए। उखरमाउलो गर्मीको रापलाई उनले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गरिन् । उनी नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो।
पक्की घरमा बसेर उनले घरको भुइँ, छानो र भित्ता नियालिन र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो। रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उनले भनिन्, मैले जे दुःख भोगें भोगें। अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन। मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन्।
२०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस-सुन्तलीले मरनीलाई देखेका थिए। मरनीको दर्दनाक अवस्था देखेर धुर्मुस-सुन्तली भावुक भने। धुर्मुसले मरनीसँग त्यतिखेर कुरा गर्दा मरनीले भनेकी थिइन्, ‘बाबु, बूढी आमाका लागि कोही पनि छैन। यति भरेर मरनी रबरबर आँसु झार्दै रोएकी थिइन् । मरनी रोएपछि सुन्तलीले भनेकी थिइन्, आमा म छु, हजुरलाई हामी सहयोग गर्छौं।
यी आमाका लागि केही गर्न पाए हुन्थ्यो, भन्दै मनमा गहिरो मानवताको भाव र आँखाभरि आँसु बोकेर धुर्मुस-सुन्तली बस्तीबाट बाहिरीएका थिए। लामो प्रयासपछि मरनीलाई खोरबाट निकालेर राम्रो घरमा राखिरहाँदा उनका आँखाबाट हर्षका आँसु खसेका थिए। मरनी हर्षविभोर भइन्। चाउरी परेको अनुहारमा निकै खुसी देखिन्थ्यो । घर बनाइ दिएकोमा मरनीले धुर्मुस-सुन्तलीलाई केही दिन सकिनन् तर, उनले आफ्नो दुःखमय जीवन सुखी बनाइदिएकोमा धुर्मुस- सुन्तलीलाई ‘भगवान् को अवतरको संज्ञा दिइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
No comments
Post a Comment