Latest News

Wednesday, December 21, 2016

पोखराबाट फरार लेडीकिलर कैदी काठमाडौंमा समातिए

 कास्कीबाट भागेका कैदी काठमाडौंमा पक्राउ
मंसिर २३ गते होटलमा युवती बलात्कार प्रयास गर्दा पक्राउ
मंसिर १७ गते सुन्धारामा बलात्कार गरेको स्वीकार
थुप्रै युवती बलात्कार गरेको बयान
काठमाडौंमा अनुसन्धान सकेर पोखरा ल्याइने

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ६ पुस। दाँतको उपचारको लागि भनेर बाहिर निकालिएका बेला भागेका कास्की कारागारका कैदी पुष्कर खड्का काठमाडौंमा पक्राउ परेका छन्।मंसिर ९ गते पोखरा न्युरोडकोएक होटलबाट प्रहरीलाई छल्दै खड्का भाग्न सफल भएका थिए। काभ्रे गणेशस्थान घर भई मकवानपुर बस्ने ३४ वर्षीय खड्काको खोजी भइरहेका बेला अर्काे अपराध घटाउँदा उनी प्रहरी फन्दामा परेको हुन्।
पोखराबाट भागेर दोस्रोपटक युवती बलात्कार गर्ने प्रयास गर्दा असफल भएपछि काठमाडौंको प्रहरी बृत्त कमलपोखरीले खड्कालाई पक्राउ गरेको हो । भागेको एक साता बित्न नपाउँदै मंसिर १७ गते एक युवतीलाई बलात्कार गरिसकेको खड्काले स्वीकारेका छन्। दोस्रोपटक फेरि मंसिर २३ गते यौन प्यास मेट्न पुतलीसडकको होटल तिरुपतिमा अर्की युवतीमाथि प्रयास गर्दा उनी समातिएका हुन् । मोडल बनाइदिन्छु भनेर डाकिएकी युवतीलाई बलात्कार प्रयास गर्दा होटलका कर्मचारीले खड्कालाई समातेर प्रहरी डाकेका थिए।
मंसिर २३ गते काठमाडौंमा पक्राउ परेका खड्कामाथि अनुसन्धान हुँदै जाँदा पोखराबाट भागेका कैदी रहेको पुष्टि भएको कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए । उनले भने, ‘काठमाडौंमा अनुसन्धान सकिएपछि खड्कालाई पोखरा झिकाइनेछ।’
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्मुम्न कार्कीले समाधानलाई दिएको जानकारी अनुसार मंसिर १९ गते खड्काले पुतलीसडकमा एक युवतीसँग चिनजान गरेका थिए। राम्रै घरानाकी ती युवती मोडलिङ गर्ने भनेपछि भुतुक्कै हुने खालकी थिइन् । खड्काले पहिलो चिनजानमै आफ्नो मोडलिङ एजेन्सी रहेको बताए । उनीहरुबीच राम्रो कुराकानी भयो त्यस दिन । त्यसपछि फोन सम्पर्क अनि एक दुईपटक बाहिर भेटघाट । एक दिन खड्काले ती युवतीलाई मोडलिङ गर्ने प्रस्ताव राखे । युवती नमान्ने कुरै भएन तर खडकाले अन्तर्वार्ता दिनु पर्छ भने । अनि खड्काले मिति तोके । मंसिर २३ गते।
आकर्षक ड्रेसमा सजिएकी ती युवती त्यही पुगिन् जहाँ खड्काले डाकेका थिए । पुतलीसडक तिरुपति होटेल अन्तर्वार्ताका तोकिएको ठाउँ थियो । सरासर दुवैजना होटलको कोठापुगे । युवती कोठामा बस्न नपाउँदै खड्काले ढोका लगाए । युवतीलाई अप्ठेरो लाग्नु स्वभाविकै थियो । त्यसपछि खड्काले ती युवतीलाई मोडलिङ गर्न भन्दा पहिला आफ्नो इच्छा पूरा गरिदिनु पर्ने भन्दै यौन सम्पर्कको प्रस्ताव गरे । युवतीले मानिनन् । खड्काले जबर्जस्ती गर्न थाले । युवतीले गुहार मागिन् । चिच्चाहट सुनेर होटलका कर्मचारी र सेक्युरिटी गार्ड चनाखो भए । युवतीले ठूलो स्वर निकालेपछि खड्का त्यहाँबाट भाग्न खोजे । ढोका खोलेर भागेका खड्कालाई होटलबाट बाहिर निक्लिनुअघिनै होटल कर्मचारीले नियन्त्रणमा लिए । उनीहरुले प्रहरीकहाँ खबर गरे।

No comments

Post a Comment