काठमाडौं, वैशाख १९ – ‘सपना पनि यस्तै देख्थें, मेरो भागमा यही लेखेको रै’छ’ सानी छोरी सुम्सुम्याउँदै रामेछापको रामपुरकी जनी तामाङ सुँक्कसुकाउनु भयाे । निलो बुट्टे लुङ्गी, मैलो पछ्यौरा घुम्लुङ्ग ओढेकी जनीका चाउरिएका निधारका धर्सा टाढैबाट प्रष्ट देखिन्छ ।
६० वर्षीया जनीका लागि बुढेसकालको सहारा तिनै छोरी हुन् । छोरी भर्खरै सात वर्षकी भइन् । ती छोरी उहाँका श्रीमानको कान्छी श्रीमतीपट्टिकी सन्तान हुन् । आफ्ना कोखबाट सन्तान नजन्मिएका जेनीलाई बुढेसकालमा आडभरोसा गर्ने तिनै छोरी भएकी छिन् ।
आफूपट्टि सन्तान नहुँदा श्रीमानको दोस्रो विहे १८ वर्षको हुँदा एक वर्ष कान्छो केटासँग जेनीको मागी विहे भयो । संयुक्त परिवारकी जेठी बुहारी उहाँको लामो समयसम्म बालबच्चा भएनन् । बालबच्चा नभएपछि उहाँले नै श्रीमानको १७ वर्षकी केटीसँग विहे गरिदिनु भयो ।
कान्छी विहे गरेको तीन वर्ष पछि छोरी जन्मिइन् । ९ महिनाको छोरी छाडेर श्रीमान् साउदी गए । पचास वर्ष पुगेका श्रीमानलाई उहाँले विदेश नजानका लागि धेरै आग्रह पनि गर्नु भएको थियोे ।
विदेशमा पाइने मान्छे मार्ने चाउचाउ कस्तो होला
साउदी गएको १५ महिना नबित्दै उहाँको श्रीमानको मृत्यु भयो । ‘बुढेसकालमा नजानु भनेको, तिम्लाई सुन किन्दिउँला भन्दै फकाएर गए, सधैंलाई गए’ जनीले भन्नुभयो ।
जनीलाई श्रीमानको के कारणले मृत्यु भयो भन्ने पनि थाहा छैन् । गाउँलेले चाउचाउ खाँदा पखाला लागेर बितेको रे भनेर सुनाएका थिए । जनीलाई विदेशमा पाइने मान्छे मार्ने चाउचाउ कस्तो होला हेर्ने मन छ ।
बालबच्चा नहुदा एक्लो महसुस गर्ने जनीका भएका श्रीमान् पनि परदेशमा बितेपछि दिन रात रोएरै बिते । श्रीमानका कुरा गर्नसाथ अहिले पनि जनीका बोली रोकिन्छन् ।
एक महिना पछि शव आयो । सुन ल्याइदिन्छु भन्दै विदेश गएका श्रीमान सुनजस्तै बाकस भित्र सुतेर फर्किएको दिन सम्झदै जनी भन्नुहुन्छ, ‘आफैं पो सुनजस्तो बाकसमा फर्कियो, मलाई त सपना जस्तो लाग्छ ।’
श्रीमान् बितेपछि जनीले बहिनी जस्ती श्रीमानकी कान्छी श्रीमती र छोरी हेरेर चित्त बुझाउनु भयो । उनिहरुकै लागि भएपनि बाँच्नु पर्छ भन्ने सोच्नुभयो ।
गरिखाने ठाउँ प्रशस्त भए पनि काम गर्ने जनीका श्रीमान बाहेक कोही थिएन परिवारमा । श्रीमानले १५ महिनामा विदेश जाँदा काढेको ऋण तिरेका थिए ।
आफैं आमा बनेर भित्र्याएकी श्रीमानकी कान्छी श्रीमती र अढाई वर्षकी छोरी सँगै उहाँ रम्न थाल्नु भएको थियो । श्रीमानकी अर्की श्रीमतीलाई उहाँ छोरी झै व्यवहार गर्नु हुन्थ्यो । उमेर पनि आमा छोरी समान थियो ।
हजुरआमा र नातिनी उमेरका आमाछोरी
श्रीमान् बितेको घाउको खाटा नबस्दै जनीको जीवनमा अर्को दुःख आइलाग्यो । श्रीमानकी अर्की श्रीमतीले काखे छोरी छाडेर अर्कैसँग विहे गरिन् ।
‘बुढाले दिदीबहिनी मिलिजुली खाउ भनेका थिए, के गर्नु छाडेर गैहाली, नजाउ भनेर मैले कत्ति सम्झाए मानिन’ छोरीको कपाल सुम्सुम्याउँदै जनी भन्नुहुन्छ ‘मलाई छोरी दिएर गई, त्यसलाई मेरो आर्शिवाद छ ।’
कान्छीले पनि छाडेर गएपछि जनीको सहाराको लठ्ठी बनेकी छन् तीनै छोरी । जेनीको बोल्ने रुने अनि हाँस्ने साथी भनेको तिनै छोरी हुन् । उसकी आमाले छाडेर जाँदा प्रष्टसँग बोल्न नसक्ने छोरी अहिले जनी रुदा आमा भन्दै आँशु पुछ्ने भैसकेकी छन् ।
झट्ट हेर्दा हजुरआमा र नातिनी झैं देखिन्छन् । जनीले छोरीको नाम निशा राख्नु भएको छ । पहेंलो घाँगर लगाएकी बेला भेटिएकी निशा आमाले बाटिदिएको कपाल ऐनामा हेर्दै छिन् ।
जनीलाई छोरी हेर्दा श्रीमानको साह्रै याद आउँछ । ऊबेला श्रीमानले विदेशबाट छोरी कत्री भइ भनेर सोधेको सम्झदै जनी भन्नुहुन्छ ‘यो बेला सोधेको भए गाउँभरी डुल्ने भइ भन्थें । छोरी आफैंले पनि बाबा मलाई चक्लेट ल्याइदेऊ भन्थी होला ।’
त्यो बेला कान्छीसँग फोन थियो । जनीलाई कान्छीले नै फोनमा श्रीमानसँग कुरा गराउँथिन । हिजोआज जनी फोन देख्दा पनि श्रीमानकै फोन सम्झेर रुनुहुन्छ । फोनमा बिरामी छु भन्नुहुन्थ्यो, मैले आउ भनेको थिएँ । पछि त लास आयो’ यति भनिसक्दा जनीका आँखाबाट आँशुका धारा बगे ।
क्षतिपूर्तिको पैसाले नयाँ घर
श्रीमान् बितेपछि आएको क्षतिपूर्ति बापतकोे पैसाले उहाँले घर बनाउनुभयो । बाँकी पैसाले घर खर्च चलाउनु भयो । अहिले उहाँको आम्दानीको स्रोत भनेको कुखुरा बाख्रा बेचेर आएको पैसा मात्र हो ।
निशा आमाले गाली गर्दा नाची दिन्छिन् । उनलाई नाच्न मन पर्छ । जनीलाई छोरीलार्ई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउने इच्छा छ । निशा पढ्नमा साह्रै तेज छिन् । स्कुलबाट सर मिसले नानी राम्रो पढ्छिन भनेर सुनाउँदा जति खुसी जनीलाई अघिपछि कहिल्यै पनि लाग्दैन् ।
‘मेरो भाग कहाँसम्म छ, यसको भागमा पनि यस्तै लेखेको रै’छ । म छउन्जेल यसलाई रुन दिन्न ।’ छोरीलाई आफूतिर तान्दै जनीले भन्नुभयो । source:ujyaaloonline.com
No comments
Post a Comment