Latest News

Wednesday, May 17, 2017

मलेसियामा म कसरी विग्रिएँ कसरी भनूँ आफ्नो आमा र परिवारलाई !

क्वालालम्पुर । मोबाइलमा घण्टी बज्यो । फोन इन्द्र कुँवरको रहेछ । ‘राम सर, कता हुनुहुन्छ ?’ उनले सोधे । मैले आफू क्वालालम्पुरमै भएको बताएँ । ‘हेर्नुस न, एकजना मानिस फेला परेका छन् । उनलाई केही गर्न सकिन्छ कि भनेर सुगाईवेसीबाट लवकुश सुव्वा सरहरुले फोन गरिरहनुभएको छ ।’ ‘को रहेछन् त ?’ मैले सोधेँ । उनले सुनाए, ‘सधै मातेर हिँड्ने जड्याँहा रहेछन् । लामो समयदेखि दाह्री, कपाल नकाटेका । कपडा पनि दुर्गन्धित । नजिकै पर्न नसकिने गरी गन्हाउछन् रे ।’

त्यसपछि मैले लवकुश सुव्वालाई फोन गरेर सोधेँ । उनले ती व्यक्ति पाँचथरका कमल सिवाकोटी भएको बताए । उनी चार दिनदेखि सुगाईवेसी भन्ने ठाउँमा देखिएका रहेछन् । एउटा नेपालीलाई बिजोक हालतमा देखेपछि लवकुशले कोठामा ल्याएछन् । नुहाउन लगाएर चिटिक्क पारेर नयाँ कपडा फेरिदिएछन् । चार दिनसम्म आफ्नै कोठामा राखेछन् । दुई दिनको घटना लवकुशले सुनाए, ‘सुर्ति किन्न भनेर पैसा मागे । मैले दिएँ । बाहिर गएर अरुसँग पनि पैसा मागेछन् र त्यो पैसाले रक्सी पिएर फिटान भएछन् । हामीले बल्लतल्ल समातेर ल्यायौं । अर्काे दिन कोठामै बाहिरबाट चाबि लगाइदिएर राख्यौं । तर, उनी त झ्यालबाट बाहिर निस्केर दिन थालिसकेछन् ।’


यसरी रक्सीको नशामा २४ सै घन्टा झुल्ने शिवाकोटी नेपाली दूतावास मलेसिया, पिएनसीसी, मलेसियामा रहेका नेपाली संस्थाहरु तथा अन्य सहयोगीहरुको सहयोगमा बुधबार नेपाल फर्किएका छन् । को हुन् कमल सिवाकोटी ? किन परिवार बिर्सिएर रक्सीको कुलतमा फसे ? उनकै शब्दहरुमाः

नागरिकता बनाउनमात्र बुवासँग भेट

मेरो जन्म पाँचथरको थर्पु-३ मा भएको हो । पछि हामी बसाईं सरेर झापाको शान्तिनगरमा आयौं । तर अहिले त लथालिङ्ग जस्तै भएको छ । आमा पनि शान्तिनगरमा हुनुहुन्न रे । अन्तै डेरा लिएर बस्नु भएको छ रे । म परिवारको एक्लो छोरा हुँ । परिवारमा दाजुभाई, दिदीबहिनीहरु कोही पनि छैनन् । म जन्मिएको २२ दिनमा आमालाई छाडेर बुवाले अर्कैसँग बिहे गरेर बाहिरिनुभएको रहेछ । एकपटक नागरिकता बनाउने बेलामा मात्रै बुवासँग भेट भएको थियो, त्यसपछि मैले बुवाको बारेमा कुनै चासो राखेको छैन । आमाले मलाई निकै दुःख गरेर हुर्काउनुभयो । सानोमा अर्काको घरमा मजदुरी गरेर पढाउनुभयो । मैले गाउँकै वीरेन्द्र माविमा ८ कक्षासम्म पढेँ । त्यसपछि पनि पढाउने आमाको इच्छा थियो, तर मैले पढिनँ ।

जम्मु कस्मिरमा चार वर्ष

पढाई छाडेर १८ वर्षको उमेरमा म भारत पसें । आमाले दोकान गर्नको लागि भनेर केही पैसा ऋण लिनुभएको थियो । मैले दश हजार रुपैया मागँं र गाउँकै योगेन्द्र चापागाईसँग भारतको जम्मु कास्मिरको जन्मत भन्ने ठाउँमा करिब चार वर्ष काम गरेँ । त्यहाँ मैले करिब पाँच लाख रुपैयाँ कमाएको थिएँ । केही पैसा आमालाई नै पठाएँ । आमासँग लिएको दश हजार रुपैयाँ पनि फिर्ता दिएँ ।

पुलिसमा भर्ति र लभ म्यारिज

भारतबाट फर्केपछि केही समय मैले नेपालमा त्यत्तिकै बिताएँ । यही बिचमा म नेपाल प्रहरीमा भर्ना भएँ । विराटनगरमा तालिम लिएँ । त्यसपछि मेरो सरुवा तेह्रथुममा भयो । नेपाल प्रहरीमा हुँदा मेरो सुनसरीकी एकजना शाही थरकी महिलासँग लभ पर्‍यो । उनलाई भगाएर तेह्रथुम पुर्‍याएँ । उनीबाट मेरा दुई सन्तान भएका छन् । तर आमालाई बुहारी भित्र्याएको बारेमा भनिनँ । आमालाई थाहा छ तर भन्न चाहनुहुन्न । नेपालमा द्वन्द्व चर्कदै गएपछि मैले नोकरी नै छाडिदिएँ । दुई वर्षभन्दा केही बढी समय मैले नेपाल प्रहरीमा विताएँ ।

मलेसियाको यात्रा

घरमा केहि वर्ष बसेपछि मैले मलेसिया जाने सोचाई बनाएँ । किनकि मलाई नेपालमा चाहेजस्तो भएको थिएन । संगत पनि त्यस्तै-त्यस्तै थियो । म काठमाडौं आएँ र पासपोर्ट बनाएँ । त्यहाँ मैले एकजना एजेन्ट फेला पारेँ । उसलाई ७० हजार बुझाएर २०११ सालको मे २ तारिखका दिन मलेसिया आएँ । मलेसिया आउँदा हामीलाई बंगलादेशबाट पठाइएको रहेछ । त्यहाँ हामीले सात दिनसम्म एयरपोर्टमा बस्नु परेको थियो । सात दिनपछि हामी क्वालालम्पुर आइपुग्यौं । एजेन्टले हामीलाई बोस्टन होटलमा लगाइदियो । नेपालमा हामीलाई ९ सय रिंगेट हुन्छ भनिएको थियो, तर हामीले यहाँ ५ सय ४६ रिंगेट मात्र पायौं । त्यही पैसाबाट आफै खानुपर्दा कति पनि बच्दैनथ्यो । एघार महिना कम्पनीमा काम गरेपछि म भागें र मेरा दुःखका दिन शुरु भए ।

काम छोड्दै हिँड्दै

कम्पनी छाडेपछि मैले जोहोरबारुको तामान गंभिरामा रहेको भर्ष भन्ने कम्पनीमा करिब १५ महिना काम गरेँ । तलब पनि पन्ध्र सय रिगेट जति आउथ्यो । तर मसँग पासपोर्ट थिएन । पासपोर्ट नभएकालाई नराख्ने भनेर मलाई निकालिदियो । त्यसपछि म पेनाङ पुगें । पेनाङमा मोटरसाइकलको रिङ बनाउने कम्पनी थियो । त्यहाँ मैले सात महिना काम गरें । होस्टल टाढा थियो । तलब बुझेको दिनमै बाटोमै लुटिन्थ्यो । तीन महिनाको तलब लगातार चोरी भयो । अन्ततः मैले त्यो कम्पनी छाडिदिएँ । त्यसपछि म गेन्तिङ हाइल्याण्ड पुगें । त्यहाँ एउटा रेष्टुरेन्टमा १४ महिना काम गरें । पछि त्यहाँ पनि पासपोर्ट नभएकालाई नराख्ने भनेपछि काम छोड्नुपर्‍यो । त्यसपछि शाहआलममा सेक्युरिटी कम्पनीमा एक महिना काम गरें । कम्पनीमा रहेका साथीहरुले स्थानीय एकजनालाई कुटपिट गरेपछि खतरा होला जस्तो लाग्यो र त्यहाँबाट पनि छोडेर हिडें । त्यसपछि आलोस्तार पुगें । त्यहाँ मेरो गाउँकै विक्रम उप्रेती भन्ने व्यक्ति भेटिए । उनले काम लगाइदिए । तर उनी नेपाल फर्किएपछि काम नै दिएन । अनि फेरि पेनाङमै एउटा सुपरमार्केटमा काम गरें । एक महिनामा पटक-पटक प्रहरीले छापा हानेपछि त्यो ठाउँ पनि छाडिदिएँ ।sajhapage

साहुको छोरालाई पिटियो

काम गर्दै छोड्दै हिँड्ने मेरो आदत नै भइसकेको थियो । फेरि मैले पेनाङकै एउटा कुखुराको औषधि उत्पादन हुने कम्पनीमा काम गरें । तलब दिएको दिन साथीसँग मिलेर टन्न रक्सी खान्थें । एक दिन रक्सी खाइरहेको बेला कम्पनी मालिकको छोरा काममा बोलाउन आयो । उसले हामीलाई एक घण्टाभित्र काममा आउनू भन्यो । तर हामी गएनौं । बरु उल्टै अर्काे बोतल पनि सिध्याएर बस्यौं । मालिकको छोरा फेरि बोलाउन आयो । तर हामीले उल्टै उसलाई पिटेर पठायौं । त्यसपछि म केलनतानमा पुगें । त्यहाँ डुंगामा काम थियो, सामान लोड-अनलोड गर्ने । त्यहाँ पनि नियमित रक्सी खान्थें । एक रात इमि्रगेसनले छापा हान्यो । बल्लतल्ल फुत्कन सफल भएँ । त्यो काम पनि छाडिदिएँ ।

त्यसपछि रावाङ भन्ने ठाउँमा आइपुगें त्यहाँ करिब दुई महिना सेक्युरिटी कम्पनीमा काम गरें । तर पासपोर्ट बनाइदिने भन्दै तलबै काट्न थालेपछि छाडिदिएँ । त्यसपछि फेरि जोहोरबारु पुगें । जोहोरबारुको एउटा नेपाली होटलमा काम गरें । काम गरेको होटल नजिकै अर्काे होटलमा छापा हानेपछि त्यो ठाउँ पनि रामो लागेन र छाडिदिएँ । त्यसपछि मुहारको फर्निचर कम्पनीमा काम गरें अनि छाडें । फेरि सेरडाङमा टायर कम्पनीमा काम गरें । अनि इपो नजिकै तान्जुङ मालुमामा पनि काम गरे । मलेसियाको सावा र सारावाक भन्ने ठाउँभन्दा बाहेक लगभग मलेसियाका सबै ठाउँ चहारें । यसरी मलाई कुनै पनि ठाउँमा लामो समय काम गर्न मनै लाग्न छाड्यो । एक महिना यता, अर्काे महिना कता-कता । कतै बाध्यता थियो भने कतै साथीभाइको लहैलहै । यस्तो हुँदासम्म पनि मैले कमाएको केही पैसा भने नेपाल पठाइरहेको थिएँ ।

रक्सीको लत

दुई वर्ष अगाडि मैले सुगाई भन्ने ठाउँमा गोरु पाल्ने साहुकोमा काम गरें । त्यहाँ सुरक्षित पनि थियो । प्रहरीहरुको चेकिङ पनि हुँदैनथ्यो । त्यहाँ श्रीलंकनहरु पनि काम गर्थे । उनीहरु घरमै रक्सी बनाउथे । मैले खोजेजस्तै भइदियो । उनीहरु रक्सी बनाउथे र मलाई दिन्थे । म पनि मज्जाले घुट्काइदिन्थें । रक्सीको नशा त्यहीँबाट गढ्यो । थोरै पैसामा पनि उनीहरु बोतलका बोतल दिन्थे । तर रक्सी खाएर काममा नगएपछि म कामबाट निकालिएँ । मैले फेरि श्री मान्जुङ भन्ने ठाउँमा कन्स्ट्रक्सनको काम गरें । तर रक्सी खाएर खाने काममा नजाने गरेपछि त्यहाँ पनि निकालिदियो । त्यसपछि म सुरुमा आएकै ठाउँ पेनाङ पुगें । होस्टलमा साथीहरुको खाना बनाइदिन्थें । त्यसवापत उनीहरु मलाई रक्सी खुवाउथे । मलाई योभन्दा के चाहियो । साथीहरुले तलब बुझेको दिनमा सबैले पैसा पनि दिन्थे । त्यो पैसा सबै मैले रक्सीमै उडाएँ । हामी बस्ने नजिकै अर्काे होस्टलमा बस्ने स्थानीयसँग पानीको विषयमा झगडा भएपछि म त्यहाँबाट पनि निकालिएँ ।



भातभन्दा रक्सी प्यारो, सडकमै बास

म यति नराम्रोसँग कुलतमा फसें कि मलाई भातभन्दा रक्सी प्यारोे लाग्न थाल्यो । अब काम गर्न सक्ने अवस्था नै मेरो भएन । रक्सी खान पाइनँ भने मेरा हातहरु काँप्न थाल्थे । पैसा भएको बेलामा किनेर खान्थें, होइन भने सडकमा बसेर मानिसहरुसँग दुई-चार पैसा माग्थें । माग्ने बहाना बनाउनको लागि म खप्पिस भैसकेको थिएँ । उनीहरु मलाई धेरथोर पैसा दिन्थे र म त्यो पैसा रक्सीमा सिध्याउथें । मेरा कुनै बास बस्ने स्थायी ठाउँ थिएन । पैसा माग्यो, रक्सी खायो । बाटो, पुल, पार्क जहाँ पायो त्यहीँ सुत्ने गर्दथें । नशाले छाडेपछि फेरि माग्न शुरु गर्थें र फेरि यो क्रम चलिरहन्थ्यो ।

दुई वर्ष मागेर चल्यो

करिब दुई वर्ष मैले मागेरै चलाएँ । आमा, श्रीमती, छोरा-छोरी छन् भन्ने नै मैले भुलिदिएँ । मलाई कुनै कुराको हेक्का नै भएन । एकमात्र सहारा रक्सी थियो । दिमागमा एउटै चिन्ता हुन्थ्यो, रक्सी खान पैसा कसरी जुटाउने । ‘मनकारी’हरुले रक्सी दिँदा कम्ति आनन्द लाग्दैनथ्यो ।

उद्धारको पहल

जब म सुवाईबेसी भन्ने ठाउँमा आएँ, त्यहाँ एउटा कम्पनीमा काम गर्नुहुने लवकुमार सुव्वासँग भेट भयो । उहाँले मलाई आफ्नो कोठामा ल्याउनु भयो । उहाँलाई पनि ‘दाइ पैसा दिनुस् न’ भनेर बाहिर गएर रक्सी खाइसकेको थिएँ । चार दिनसम्म उहाँहरुले मलाई निकै माया गरेर राख्नुभयो । म कसैको नजिक जान नसक्ने अवस्थामा थिएँ । मलाई सबैले ‘माग्ने’ भन्थे । उहाँले मेरोबारेमा सबै कुरा बुझेपछि इन्द्रदाइलाई फोन गर्नु भयो । इन्द्रदाईले रामचन्द्रलाई गर्नुभयो । उहाँले को-कोलाई गर्नुभयो थाहा भएन । मलाई चार दिन पछाडि नेपाली दूतावास ल्याइपुर्‍याइदिनु भयो । दूतावासको सहयोग पाएँ । रक्सीले कसरी बिगि्रएँ म भनेर मैले त्यहाँ पाँच मिनेट जति करीब ८० जना नेपालीहरुको बीचमा आफ्ना कुराहरु राखें । साथीहरुले दूतावासमै चन्दा उठाइदिनुभयो ।

परिवार खोज्नुछ

लामो समय म घर-परिवारबाट सम्पर्कविहीन थिएँ । पछि म फेला परेको खबर फेसबुकभरी फैलियो । तर नेपालमा मेरा ठेगाना पत्ता लगाउन भने समस्या थियो । किनकि म पाँचथरमा जन्मेको थिएँ र सबैलाई म पाँचथरकै भन्ने थियो । तर, शान्तिगर झापाको नाममा पासपोर्ट थियो । पासपोर्ट काठमाडौंबाट निकालेको थिएँ । आमा पुरानो ठाउँबाट सरेर अर्काको घरमा डेरामा हुनुहुँदो रहेछ । नेपालमा भएका समाजसेवी कमल पोखरेल, पत्रकार नारायण अर्यालले घरमै पुगेर आमालाई भेटेर फोटाहरु पठाउन थाल्नुभयो । नेपाल प्रहरीका असई योगेन्द्रप्रसाद यादव, दिपक दास, मिरा भट्टराईहरु पनि खोजी कार्यमा लागेपछि सजिलो भयो । करिव दुई वर्षदेखि मेरो कसैसँग पनि सम्पर्क भएको छैन । श्रीमती र दुई छोराहरु अहिले कहाँ छन् मलाई पनि थाहा छैन । नेपाल पुगेपछि उनीहरुको खोजी गर्नुछ ।

बल्ल होस आयो

अहिले मेरो चेत खुलेको छ । विदेशमा म किन आएको थिएँ भन्ने कुरा नै मैले भुलेको थिएँ । खास गरेर म अवैधानिक नभएको भए यो अवस्थामा पुग्ने थिइनँ । किनकि अवैधानिक हुँदा कसैको पनि मतलब नहुँदो रहेछ । साहुले काम नदिए नदिओस् अर्काेमा गरिहालिन्छ भन्ने हुँदोरहेछ । जहाँ जाऊँ उस्तै साथीहरु फेला परे । एक पेग पिउँ न भन्दाभन्दै आज यो अवस्थामा पुगें । मलाई संगतले जड्याहा गरायो ।

आमा म आएँ
मलेसियामा रहेका सबै नेपालीहरुको सहयोगले नेपाल फर्किँदै छु । म कसरी मेरो आमा अनि परिवारको अगाडि मुख देखाउँ जस्तो भएको छ । मलेसियामा म कसरी विग्रिएँ कसरी भनूँ आफ्नो आमा र परिवारलाई । आफ्नी आमालाई यति भन्न चाहन्छु कि अब म सुध्रने छु । काठमाडौंमा पुगेपछि केहि समय सुधारगृहमा बस्ने योजना छ । विगतमा मैले धेरै भूल गरेँ । अब यसलाई नदोहोर्‍याउने प्रण मैले गरिसकेको छु । पैसा कमाउन विदेश गएको छोरा चन्दा उठाएर घर फर्किएको थाहा पाउँदा आमालाई र परिवारलाई कस्तो होला ?sajhapage

No comments

Post a Comment