स्थानीय तहका लागि तीन वटा प्रदेशको निर्वाचनमा मतादान सम्पन्न भएपछि सबैको ध्यान आ–आफ्ना गाउँ–नगरका इकाइहरुको परिणाममा केन्द्रित हुँदैछ। सँगसँगै चार महानगरहरुसहित काठमाडौंमा कुन दल विजयी होला भन्ने अनुमान र चासो सर्वत्र व्याप्त छ।
२० वर्षपछि भएको यो स्थानीय चुनावमा राजनीतिक परिस्थिति, दलहरुका मुद्दा र मतदाताको मनोविज्ञानमा बदलाव आएको छ। यद्यपी महानगरहरुमा दलका उम्मेदवारहरुको टकराव साँच्चै नै हेर्न लायक र कौतुहलपूर्ण छ।
धेरैको चासो देशको राजधानी महानगर काठमाडौंमा किन पनि छ भने, यहाँको मेयर पदमा हालसालै गठित राजनीतिक दल साझा पार्टीबाट पूर्वप्रशासक किशोर थापा र विवेकशील नेपालीबाट युवा उम्मेदवार रञ्जु दर्शना पनि ठूला दलहरुसँग मैदानमा प्रतिश्पर्धा गरिरहेका छन्।
सामाजिक सञ्जालहरुमा थापा र दर्शनाको चर्चा–परिचर्चा अलिक बाक्लै देखियो जसले उनीहरुले कति भोट ल्याउलान् भन्ने प्रश्नलाई अझै गाढा र तिख्खर बनाएको छ। चुनावी रिपोर्टिङका क्रममा हामीले केही युवा मतदाताहरुमा रञ्जुप्रतिको सद्भाव पनि फेला पार्यौँ। त्यसैगरी केही मतदान केन्द्रहरुमा उम्मेदवार किशोर थापाको नामै लिएर भोट हाल्ने मनसाय व्यक्त गरेको पनि सुनियो। यी मतहरुको निर्माण सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा उनीहरुका वार्ता र प्रचारप्रसार सामग्रीका प्रभाव हुन्।
तर प्रश्न उठ्छ के रञ्जु र किशोरमध्ये एकले कांग्रेस–एमालेका उम्मेदवारलाई ढलाउलान् त? यसको सम्भावना कहिँकतै देखिँदैन। बरु यी दुई उम्मेदवारले काठमाडौंमा कांग्रेस र एमालेमध्ये कसका बढि मत काट्छन्, परिणाम त्यसमा निर्भर रहन्छ।
त्यसैगरी काठमाडौंमा पहिलो संविधानसभा निर्वाचनमा उल्लेख्य मत पाएको माओवादी जो यहाँसम्म आइपुग्दा ठूला दलहरुमध्ये अलिक कमजोर देखिएको छ, उसले कसलाई सघायो भन्नेमा परिणाम धेरथोर प्रभावित हुने देखिन्छ। पोखरा र भरतपुरमा तालमेल गरेका काँग्रेस र माओवादी केन्द्रले निर्वाचनको अघिल्लो रातीसम्म काठमाडौँमा त्यस्तो प्रयास गरेपनि सम्भव भएन। त्यसैले माओवादी केन्द्रको भोटबाट कांग्रेस लाभान्वित हुन सकेन। उल्टो दुई ठूला दलहरुमध्ये कांग्रेसको मत किशोर थापा र रञ्जु दर्शनाले बढि काटेको आज सार्वजनिक भएका केही प्रारम्भिक सर्वेहरुले दाबी गरेका छन्।
सर्वेक्षणरुमा दाबी गरिएजस्तै नयाँ दलका उम्मेदवारले कांग्रेसको मत बढि काटेका हुन भने त्यसको फाइदा सिधै एमालेलाई हुने निश्चित छ। अझ एमालेले काठमाडौं महानगरमा आफ्ना उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन निर्वाचनको अघिल्लो रात संघीय समाजवादी फोरमको एउटा पक्षसँग भित्रभित्रै कुरा मिलाएको सूचना आएको छ। ती पार्टीका नेताहरुले यसलाई नकारे पनि गुठिहरुको प्रभाव बलियो मानिने महानगरको नेवार समूदायमा एमालेलाई सघाउने निर्णय भएको र त्यही अनुसार सन्देश प्रवाह गरिएको बुझिएको छ। महानगरमा प्रतिस्पर्धा कडा देखिएपछि अन्तिम समयमा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ र संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ सक्रिय भएको स्रोतहरुको भनाइ छ।
नेवार समुदायलाई विश्वासमा लिएर कम्तिमा ४ हजार मत एमालेको पक्षमा पारेर कांग्रेसलाई कमजोर बनाउने रणनीति अनुसार राती यस्तो चलखेल गरिएको विश्लेषण राजधानीमा एकथरी नेताहरुले गरेका छन्। यद्यपी कांग्रेस उम्मेदवार राजुराज जोशी निकट समूह अझै पनि चुनाव जितिन्छ भन्नेमै छ।
अर्को कुरा, एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गरिरहेको छ। पछिल्लो संविधानसभा निर्वाचनमा उपत्यकाबाट राप्रापाले समानुपातिकमा राम्रो मत ल्याएको थियो। र, यसपटक प्रत्यक्षतिरको उसको मतको साथ एमालेलाई छ।
नेपाल खबरडटकमको अनुसार त्यसैले अहिलेलाई के मात्र भन्न सकिन्छ भने, काठमाडौं महानगरको मेयरमा लडाईँ हुने भनेको कांग्रेस–एमाले उम्मेदवारबीच नै हो। तर नयाँ उम्मेदवारहरु रञ्जु र किशोरले ल्याउने मत र अन्तिम समयमा एमालेले चालेको चालबाट विद्यासुन्दरको पल्ला भारी भएको छ।
No comments
Post a Comment