परासी : मतदानमा सहभागी हुन आएका एकसय पचास बढी नेपालीहरु नवलपरासीमा पर्ने नेपाल–भारत सीमानाको भैंसालोटनमा रोकिएका छन् । लामो सयमपछि हुने निर्वाचनका लागि सहभागी हुन आएका नेपालीहरु सीमा नाका बन्द हुनेबारे अनविज्ञ हुँदा वाल्मिकिनगरको भैंसालोटनमा रोकिएका हुन् ।
भारतको पश्चिम चम्पारनमा पर्ने विभिन्न शहरमा काम गर्ने उनीहरु मतदानमा सहभागी हुन आएका हुन् । मतदान गर्नका लागि आएका नेपालीहरुमा नवलपरासी, रुपन्देही, चितवनलगायतका जिल्लाका छन् ।
नवलपरासी जिल्ला भारतको बिहार र उत्तर प्रदेशसँग सीमाना जोडिएको नाका हो । बिहार प्रदेशसँग त्रिवेणी क्षेत्र जोडिएको छ । जसअनुसार त्रिवेणी–भैसालोटन नाका सोमबार बिहानसम्मका लागि बन्द गरिएको हो । नाकासँग जोडिएको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा निर्वाचन हुँदैछ ।
दुई प्रदेशमा विभाजित नवलपरासीको प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रमा रहेका चार नगरपालिका र चार गाउँपालिकामा निर्वाचन हुँदैछ । जिल्लाको प्रदेश नम्बर ५ परासी क्षेत्रमा छ । परासी क्षेत्रमा त्रिवेणी क्षेत्र पर्ने भएपनि सीमाकांनमा तत्कालिन त्रिवेणीसुस्ता गाउँपालिकाको वडा नं. ६ र ७ लाई नवलपुर क्षेत्रको विनयी गाउँपालिकासँग समावेश गरिएको छ । समावेशपछि उक्त गाउँपालिकाको नाउँ विनयी–त्रिवेणी राखिएको छ । तत्कालिन त्रिवेणीसुस्ताका अन्य वडाहरु भने परासी क्षेत्रको सुस्ता गाउँपालिका नामाकरण गरेर समावेश गरिएको छ ।
भैसालोटनबाट आउन नसकेका नेपालीहरुलाई सुस्ताबाट ढुङ्गा प्रयोग गरेर वा ठूठीबारीको नाका प्रयोग गरेर आउन सक्ने सल्लाह दिइएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताउनुभयो ।
यसैबीच १५ स्थानीय तह रहेको जिल्लामा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताउनुभयो । शनिवारसाँझ सम्म मतदाता परिचयपत्र वितरण भइरहेकाले केही छुट हुन पुगेकाहरुलाई निर्वाचन सुरु भएपछि पनि बिहानको समय मिलाएर वितरणको व्यवस्था मिलाइएकोे निर्वाचन कार्यालयले जनाएको छ
निर्वाचन हुने नगरपालिकामा गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दुसहित हुप्सेकोट, बुलिङटार, वुङ्दििकाली र विनयी–त्रिवेणी गाउँपालिका छन् । ९२ वडा रहेका ति स्थानीय तहबाट एक हजार ६ सय ७० उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा चार नगरप्रमुखका लागि ३७ र चार नगर उपप्रमुखमा २८ जना उम्मेदवार छन् । गाउँपालिकाबाट १९ अध्यक्ष र १४ जना उपाध्यक्ष प्रतिस्पर्धामा छन् । त्यस्तै तीन सय १६ जना वडा महिला सदस्य, दुई सय ६८ दलित महिला सदस्य र ६ सय ९ खुला सदस्यका लागि उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।
कुल तीन लाख ६९ हजार ९ सय ९४ मतदाता रहेको जिल्लामा एक लाख ८६ हजार ८ सय ८१ मतदाताहरु निर्वाचनमा सहभागी हुँदैछन् ।अन्नपूर्ण पोस्ट
No comments
Post a Comment