Latest News

Tuesday, May 2, 2017

१६४ वर्षमा पनि भारी बोक्छिन् थीरमाया !

शिव ढुंगाना/उज्यालो । 
ओखलढुंगा, वैशाख १९ – एक सय ६४ वर्षसम्म मान्छे बाँच्न सक्छ ? यो अनौठो प्रश्न हुन सक्छ । विश्व इतिहासमा कोही मान्छे यती धेरै वर्ष बाँचेको छैन । तर ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकलीमा १ सय ६४ वर्षकी बृद्धाले भारी बोक्दै आएकी छिन् भन्दा पत्यार लाग्दैन । पोकलीकी थीरमाया खड्काको उमेर भने एक सय ६४ वर्ष पुगिसक्यो । उहाँ अझै ठमठम गरेर घाँसपात, घरधन्दा गर्न सक्नु हुन्छ । उहाँको नागरिकता प्रमाण पत्रमा विसं १९१० साल जन्म मिति उल्लेख छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जारी गरेको ५६६४/१५ नम्बरको नागरिकतामा महिना र गते उल्लेख छैन । ठेगाना पोकली–२ भनिएको छ ।

थीरमायाले गाउँमै नागरिकता वितरण टोली जाँदा नागरिकता बनाउनुभएको हो । तत्कालीन नागरिकता वितरण टोली प्रमुख हिमलाल सुवेदीद्वारा हस्ताक्षरित नागरिकता २०४९ सालमा बनेको हो । खासमा थीरमायाको वास्तविक उमेर भने यो होइन । नागरिकता टोलीमा जाने कर्मचारीको गल्तीले यति धेरै उमेर देखिएको हो ।
‘त्यतिबेला (नागरिकता बनाउने क्रममा) टिप्नेले के टिपिदिए, पत्तै पाइनँ’ उहाँले भन्नुभयो । उहाँलाई आफ्नो जन्ममिति पत्तो छैन । लेखपढ गर्न नजान्ने थीरमायाले बुवा नैनबहादुरको नामबाट नागरिकता लिएको देखिन्छ ।  ८०–९० वर्ष उमेरकी थीरमायाका श्रीमानको ३० वर्षअगाडि नै निधन भएको थियो । छोराछोरीसँग छुट्टिएर बस्नु भएकी उहाँको घर भूकम्पले भत्काइदिएपछि अहिले टहरोमा बस्नुभएको छ । 
नागरिकतामा उमेर धेरै देखिएकाले थीरमायाले लामो समयदेखि सामाजिक सुरक्षाभत्ता स्वरुप वितरण गरिने बृद्धभत्ता पाउनुभएको छ । उहाँले २०५४ सालदेखि नै निरन्तर रुपमा भत्ता पाइरहेको लिखु गाउँपालिका–९ नम्बर वडा कर्मचारी पशुपति सुनुवारले जानकारी दिनुभयो । ‘नागरिकतामा स्पष्टरुपमा उमेर खुलेको छ, दाबी परेपछि त्यतिबेलादेखि नै बृद्धभत्ता दिइँदै आएको रहेछ’ सुनुवारले भन्नुभयो । 
लिखु गाउँपालिका–९ पोकलीकै अनिशा तामाङले घुम्ती शिविरबाट नागरिकता बनाउनुभयो ।  तर पछि मात्रै उहाँलाई नागरिकता र अरु कागजातको जन्ममिति फरक परेको थाहा भयो । अरु कागजात सच्याउन धेरैतिर सास्ती बेहोरेपनि सफल नभएपछि उहाँले नागरिकताको जन्ममिति सच्याउनुभयो ।
शिविरबाट वितरण गरिएको नागरिकतामा  त्रुटी भएमा एसएलसी माथिको प्रमाणपत्रको आधार राखेर मात्रै सच्याउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताउनुभयो । थीरमाया जस्ता थुप्रैको जन्ममिति फरक पर्दा धेरैले दुःख पाउने गरेका छन् । 

No comments

Post a Comment