नयाँ दिल्ली—नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको सहर गोरखपुरमा मेट्रो रेल निर्माण हुने भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको राजनीतिक आधार क्षेत्र गोरखपुरमा मेट्रो रेल बनाउने तयारी थालिएको हो।
मेट्रोको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) को लागि गोरखपुर विकास प्राधिकरण र तथा राइट्स कम्पनीबीच सम्झौता भएको छ। ७ महिनामा डिपीआर तयार हुनेछ।
चुनाबको बेला मुख्यमन्त्री योगीले गोरखपुरमा मेट्रो रेल चलाउने बाचा गरेका थिए। पछिल्लो महिना उनले गोरखपुर, झाँसी, इलहावाद, मरेठ, आगरामा मेट्रो सञ्चालनका लागि डिपीआर बनाउन निर्देशन दिएका थिए।
मुख्यमन्त्रीको निर्देशनमा गोरखपुरमा मेट्रो सञ्चालनबारे एक टोलीले सर्वेको काम गरिरहेको छ। टोलीले मेट्रोको सम्भावित रुटको पहिचान गरेको छ। गुलरिहा, खोराबार, बैंक रोड रुटमा मेट्रो चल्ने सम्भावना सर्वेले औंल्याएको छ। २० वर्ष पछिसम्मको ट्राफिकलाई ध्यानमा राख्दै मेट्रो निर्माण गर्न लागिएको हो।
सर्वे टोलीका सदस्यका अनुसार गोरखपुरमा मेट्रो चल्न ६ वर्ष लाग्नेछ। ७ महिना डिपीआर, १५ महिना केन्द्र सरकारबाट अनुमति लिन लाग्नेछ। त्यसपछि तीनदेखि चार वर्षसम्ममा मेट्रो निर्माणको काम पूरा हुने अनुमान गरिएको छ।
गोरखपुर नेपालसँग सीमा जोडिएको भारतीय सहर हो।
No comments
Post a Comment