काठमाण्डौँ, बैशाख २१ । घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्याइएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको छ।
ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो। फर्काइएकामध्ये १२ जना मंगलबार र १९ जना बुधबार नेपाल आइपुगेका हुन्। नेपाल फर्काइएकामध्ये केही बिरामी छन्।
झापा, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, बाँकेलगायत दर्जन बढी जिल्लाका महिला दुबई एयरपोर्टमा अलपत्र परेका थिए। तस्करले विभिन्न स्थानका महिलालाई दिल्लीको बाटोबाट कुवेत लैजाने प्रयास गरेका थिए। अध्यागमन विभागलाई ती महिलाले कुवेत जान मानव तस्करलाई दुई लाख रुपैयाँभन्दा बढी रकम तिरेर गएको बयान दिएका छन्।
तर, उनीहरूले कुनै मानव तस्करको नाम भने बयानमा उल्लेख गरेका छैनन्। ‘फर्किएका महिलाले आफैं दिल्ली पुगी त्यहाँबाट दुबई गएको बताएका छन्’, विभागका एक अधिकारीले भने। बयानका क्रममा ती महिलाले सरकारले खाडीमा काम गर्न जान वैधानिक बाटो नदिएको र वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको बताएका छन्।
उनीहरू दिल्लीबाट उड्नुअघि एकदेखि तीन महिनासम्म त्यहाँ बसेका थिए। तस्करले केन्या जाने भन्दै उनीहरूलाई उडाए पनि दुबईमा भिसा पाइने र त्यहाँबाट कुबेत पुग्ने आश्वासन दिएका थिए। ‘हामी चार दिन दुबई एयरपोर्टमा बस्यौं तर भिसा नपाएपछि हामीलाई फर्काइयो’, बुधबार फर्किएकी बाँकेकी निर्मला परियार (नाम परिवर्तन)ले भनिन्।
फर्किएका महिलाको राहदानी रेकर्डअनुसार धेरैजना यसअघि धेरैपल्ट खाडीका विभिन्न मुलुकमा काम गरेको देखिएको अध्यागमनले जनाएको छ। दुबईमा भिसा नपाएपछि तस्करले नै टिकट काटेर उनीहरूलाई नेपाल फर्काएका हुन्।
नेपाली महिलालाई खाडी राष्ट्रमा भिजिट भिसामा जानसमेत रोक लागेको छ। नेपालबाट जान समस्या भएपछि मानव तस्करले भारतको बाटो हुँदै महिलालाई लैजाने गर्ने गरेका छन्। उनीहरूलाई काँकडभिट्टा, रुपैडिया, महेन्द्रनगरलगायत नाकाबाट भारत पुर्याइएको थियो। यस विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ।
एक साताअघि सीआईबीले नयाँदिल्ली हुँदै ओमान पठाउन काठमाडौंमा जम्मा गरिएका दुई युवतीको उद्धार गरेको थियो भने ओमान पठाउने तीन जना एजेन्टलाई पक्राउ गरेको थियो। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ) ऐन २०६४ अनुसार दोषीलाई १० देखि १५ वर्षसम्म कैद तथा र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । फर्काइएका सबै महिलालाई माइती नेपालको जिम्मा लगाइएको छ।eallnepal.com
No comments
Post a Comment